मुण्ड–मुण्ड वधूशिक्षा
मुण्ड–मुण्ड वधूशिक्षा विमर्श हामी प्रेम र वात्सल्य पनि लेख्न चाहन्छौं तर कम्तीमा समाज र संस्कृति त्यो विन्दुमा पुगोस् जहाँ पुरुष र महिलाका लागि एकै अर्थले घाम उदाउँछ । समान महत्त्वले फूल फुल्छ । श्रावण २१, २०७४ सरिता तिवारी १८७१ सालमा जन्मिएका ‘आदिकवि’ भानुभक्त आचार्यले आदर्श बुहारी र पत्नीका लक्षण बयान गर्दै एक विशेष रचना लेखे— ‘वधूशिक्षा’ । आफूले लेखेको ३३ श्लोके काव्यको कालान्तरसम्म झन्–झन् चर्चा होला भन्ने पूर्वानुमान हुन्थ्यो भने कविले यस विषयमा महाकाव्यै लेख्दा हुन् । यो भानुभक्तको मात्र होइन, तत्कालीन संस्थापनको ‘जबर्जस्त’ कथ्य थियो । उनका अन्य रचना हेर्दा पनि भानुभक्त संस्थापनको चेतना फड्किने दुस्साहसका धनी कवि थिए भन्ने लाग्दैन । उनी समाजका बहुसंख्यक मानिसभन्दा अलग हुन नसक्नुका कारणबारे पनि खोजबिन गर्न नसकिने होइन । यसरी गरिने अनुसन्धानमा भानुभक्तका ‘दोष’ कति वैयक्तिक, कति संस्कारजन्य र कति तत्कालीन समाज–राजनीतिजन्य भन्ने कुरा आउँछन् । तर समयान्तरमा शासकीय सदिच्छाले उनको गलामा ‘आदिकवि’ नामको माल्यार्पण गरिदियो । उनको आदिकवित्वका नाममा राज्ययन्...