इच्छुकका नाममा प्रेमपत्र
इच्छुकको नाममा प्रेम पत्र
-सरिता तिवारी
(जेठ १३,२०७६ को कान्तिपुर दैनिकबाट साभार)
प्रिय कवि ‘इच्छुक’
तिमी त यो पत्र पढ्न सक्दैनौ तर तिम्रो नामबाट मलाई केही कुरा भन्नु छ ।
तिमी हाम्रो बीचमा सशरीर छैनौ तथापि हामीभित्र छौ । हामीसँगै छौ । तिमी शासकहरूका क्रुर दमन र हत्याको शिकार भयौ । शब्दको सिपाही तिमी, शब्दकै शक्तिका कारण बलिदान भयौ ।जसरी बलिदान भए ‘मकैको खेती’ लेख्ने कृष्णलाल अधिकारी । जसरी बलिदान भए ‘एक बुलफाइटरको मृत्युमाथि शोकगीत’ लेख्ने स्पेनी जनकवि गार्सिया लोर्का । जसरी बलिदान भए भारतीय क्रान्तिकवि अवतार सिंह पाश, आदि ।
विचारको चमक र सौर्यले धपक्क बलेको तिम्रो अनुहार छ आँखाअघि । तिम्रा शब्दहरू छन् यी ओठमा र तिनको घना कोरस छ छातिमा । तिम्रा शब्दका चुम्बकले तानिएर, तिम्रो बलिदानको गुरुत्वले खिचिएर बनेका भावका गुम्बजहरू छन् मथिङ्गलमा । तिमी आज पनि उत्तिकै प्रासंगिक ,उत्तिकै आवश्यक छौ । तिम्रा कविताको जरुरत आजको समयलाई पनि उत्तिकै छ , जति हिजो थियो ।
ब्यवस्थाको नाम फेरियो । शासकका अनुहार फेरिए तर नियत र प्रवृत्ति फेरिएन । त्यो राणाजीलाई पनि मात खुवाइदिने भएर निस्कियो । पन्च र मण्डले भनिनेभन्दा पनि दलाल र भ्रष्ट भएर निस्कियो । र सबैभन्दा दुःखद त के भने, आज पनि सयौं इच्छुकहरू ‘प्रतिबन्ध’ का सिक्वेल लेख्दैछन् । ‘अराष्ट्रिय तत्व’ र ‘आतंककारी’का बिल्ला भिराइने अवस्थामा छन् । लेनिन र चे ग्वेभाराका किताब सिरानीमा राख्दै निदाउने कुनै कवि, कुनै कलाकार सुरक्षित छैन यो मुलुकमा जबकि आफूलाई तिनैका सन्तती दाबी गर्नेहरूको छ शासन !
एउटा कठोर जुग थियो तिमीले बाँचेको र हाम्रो भुक्तमानमा अर्को कठोर जुग छ । यद्यपि यो कठोरताको उन्नायक तिम्रै रगतले लेखिएको संविधानको रक्षक ठान्छ आफूलाई । तिमै्र चिहानमाथि फुलेको लोकतन्त्रको अनन्य माली ठान्छ आफूलाई । ऊ बेलाकुबेला तिम्रो नाम लिइरहन्छ र आवश्यकतापिच्छे तिम्रो बलिदानलाई साक्षी राखेर क्रान्तिको उत्तरदानमाथि निर्लज्ज बयानबाजी गर्छ । लेनदेन सत्ताको सट्टाबजारी गरुन्जेल कथम् सम्झन्न ऊ तिमीलाई । जब आफ्नो छद्म इरादालाई ढाकछोप गर्नुपर्ने हुन्छ एकाएक उसलाई तिमीजस्ता अनेक सहिदको नाम सम्झना आउँछ । सबैभन्दा बढी सहिदको ब्यापार फस्टाएको यो देशमा यतिखेर तिमी पनि एउटा ‘माल’ बनेका छौ कवि । खास्साको माल!
यतिबेला तिमीलाई सम्झनु केवल तिम्रो भौतिक कदकाटी सम्झनु निश्चय पनि होइन । तिम्रा कविता र बलिदानको चर्चा गरेर श्रद्धाकर्म दोहो¥याउनु मात्रै पनि होइन । यसको जब्बर अर्थ छ । यतिबेला तिमीलाई सम्झनु सत्य र न्यायको पथमा तिमीजस्तै दृढ र प्रतिबद्ध भएर उभिने संकल्प गर्नु हो । तिम्रोजस्तै विचारको सिपाही हुने अभ्यास गर्नु हो।
मैले सुनेको हो, संसारको सबैभन्दा ठूलो क्रान्ति हो प्रेमको आँट गर्नु । किनभने घृणा गर्न धेरै सजिलो छ , प्रेम गर्न बहुतै कठीन । प्रेमले प्राप्तिको सुख त अवश्यै खोज्छ त्यसभन्दा बढि खोज्छ प्राप्तिका जोखिममा आइपर्ने सारा अवरोधविरुद्ध लड्ने धैर्य र इच्छाशक्ति । तिमी त्यस्तै धैर्य र इच्छाशक्तिको धनी थियौ । जहाँ पाउनुको अर्थ भौतिक रुपले आफ्नै अन्जुलीमा खस्ने दुई मुठी खुसी र उज्यालो मात्रै हुन्न । जहाँ गुमाउनुको अर्थ हाडमासुको एउटा ज्यान गुमाउनु मात्रै पनि हुन्न । तिमीले साच्चैनै बिरल कोटीको प्रेम ग¥यौ । देशको प्रेम , उज्यालोको प्रेम । यथास्थिति र जडताविरुद्ध आम मानिसको आँखामा नाच्ने उन्मुक्त घामसँगको प्रेम । वर्ग, जात र लिङ्गका पर्खालले घेरिएको समाजलाई स्वतन्त्रताको सास फेराउने सपनामाथिको प्रेम । तिमीले मानिसहरूलाई उदात्त हृदयले प्रेम ग¥यौ र नै शब्दको हतियारले क्रान्तिको मोहरीमा हामफाल्न सक्यौ । कवि भएर, सम्पादक भएर , एउटा प्रतिबद्ध शब्दप्रेमी भएर । तिम्रो त्यो प्रेम निजी सुख र आल्हादको मात्रै प्रेम भएको भए, आफ्नै घेराको सीमित प्रेम भएको भए तिमी यसरी भौतिक अवसानपछि पनि कहाँ सम्झिइन्थ्यौ होला र ?
.
००००
कविजी,
गत वर्षको कुरा । तत्कालीन माओवादी केन्द्र निकट सांस्कृतिक संगठनले मलाई तिम्रो स्मृतिसभामा केही बोल्ने जिम्मासहित निम्तो ग¥यो । मैले स्वभाविक रुपले सोधें, त्यहाँ को को आउनुहुन्छ? आयोजकले उच्चारण गरेका नामहरू प्रायः तिनै तिनै थिए जसले पछिल्ला दिनसम्म आइपुग्दा इच्छुक लगायत सहिदहरूका सपनामाथि तेजाब छर्किने बेहिसाब उद्यम गरेका छन् । मैले फेरि सोधें , इच्छुकजस्ता सहिदको रगतको ब्यापार गर्ने पार्टी र नेतृत्वको आलोचना गर्न पाई कि नपाई ? आयोजक कमरेडले रन्केर जवाफ दिए, पार्टीमाथि आलोचना किन गर्ने ? यो शुद्ध साहित्यिक कार्यक्रम हो , राजनीति नमिसाइकन इच्छुकको ब्यक्तित्व , कृतित्वमाथि मात्रै बोल्ने हो ।
मलाई हाँसो लाग्यो । झनक्क रिस पनि उठ्यो । मैले आवेशमै उनीसँग भनें,कृृष्ण सेन ‘इच्छुक’जत्तिको स्पष्ट र क्रान्तिकारी कविमाथि राजनीतिबाहिरको सपाट बहस सम्भव छैन । यस्तो कसरी हुन सक्छ कि इच्छुकमथि बोलियोस् र त्यसमा आजको राजनीतिक बहस गायब होस् ।इच्छुकले ज्यान अर्पेको आन्दोलन कुन गतिमा दुर्गत हुँदैछ ? त्यसको चर्चा नगरी इच्छुक एक्लैको निख्लो टिप्पणी कसरी हुन सक्छ ?
राजनीति र साहित्य गोलाद्र्धका दुई छेउ हुन् भन्ने धारणा त कलावादी लेखक, समालोचकको मात्रै हो भन्ने मेरो कत्रो भ्रम ! (हुनत आफूलाई भयंकर जीवनवादी दाबी गर्ने लेखकहरू पनि कवि केदारमान ब्यथितलाई उधृत गर्दै ‘राजनीति भनेको शौचालय हो र साहित्य भोजनालय’ भनेर थाक्दैनन् । )आजकल म आफ्ना कतिपय भ्रमहरूको निर्मम शल्यक्रिया गर्न थालेकी छु । साहित्यलाई राजनीतिक संघर्षमा अन्धकारविरुद्धको सलेदो ठान्ने ‘संस्कृतिकर्मी’जमात नै पछिल्लो समय साहित्यकारलाई केवल साहित्यकै घेरामा सीमित पारेर गरिने ब्याख्या चाहन्छन् । जनयुद्ध बन्दुकले मात्रै लडिएको थिएन भन्ने मानिसहरू नै जनयुद्धको लिस्नो चढेर सत्ताको अटालीमा रम्नेहरूको पक्षमा उभिँदा आफू कहाँ कुन अवस्थामा छु भन्ने कुरा बिर्सन्छन् । यसरी त मुर्ति पूजन गर्ने धर्मभीरु र शालिक पूजा गर्ने तथाकथित ‘भौतिकवादी’ बीच कति पो अन्तर छ र ?तर सत्य यही हो । कविजी, सत्तापोषक चिन्तनका अधिकांश लेखक र संस्कृतिकर्मीहरू तिमीलाई केवल शालिकका रुपमा पुज्नुपर्ने तर्क गर्छन् । तिनलाई तिम्रा विचारहरूले बेहोरेको पहिरो र धरापसँग कुनै लिनुदिनु छैन ।
प्रिय कवि , तिम्रो बलिदानलाई र तिम्रा कविताहरूलाई आजको कुरुप राजनीतिको प्रासंगिकताभित्र तान्नु आलोचनाको एउटा ‘छुच्चो’ हर्कत मात्रै बन्छ यतिबेला । तर पनि यो छुच्याईं बारम्बार गरिरहनुपर्छ भन्छु म । साहित्य र संस्कृतिको हवाला दिएर ‘हिमवत्खण्ड साहित्योत्सव’ जस्ता प्रहसनलाई राजकीय मान्यता दिइएको यो बेलामा जब रुद्राक्ष मालाले सुशोभित ‘कवि’ शासकहरू जन्मछन् जनताको कवि स्वतः अप्रासंगिक र बुच्चो लाग्छ । अझ नमज्जाको कुरा के भने, जनतासँग जोडिएको दाबी गर्ने सांस्कृतिक संगठनकै जिम्मेवार मानिसहरू उर्दी गर्छन् , इच्छुकलाई केवल कविका रुपमा चिन र चिनाऊ । केवल पत्रकारका रुपमा चिन र चिनाऊ । यो विपर्यास नै आजको समयको सबैभन्दा अश्लील ब्यंग्य होइन ?
०००
तीन दिन अघि तिम्रो स्मरणमा आयोजित चितवनको एउटा साहित्यिक सभामा आलोचक प्रेम रिमालले भने, असल र इमान्दार कवि, लेखकहरू छिटै मरुन् ।उनले दोहो¥याएर भने ,इच्छुकलाई भौतिक दुःख र कष्ट त अवश्य भोग्नुप¥यो तर तिनले मानसिक मृत्यु मर्नुपरेन । तिनले प्रत्येक दिन किस्ताकिस्तामा इमान डगाएर मर्नुपरेन । तिनी महान् बन्ने गौरवसाथ मरे । आजसम्म बाँचेका भए तिनी यति नै महान बन्थे कि बन्थेनन् ? शंका गर्नुपर्छ ।
आजको चेतनाका ‘इच्छुकहरू’लाई मर्ने हिम्मत जुटाउनभन्दा अघि कविको इमानमा बाँच्नुकै भयानक सकस छ । सत्यको सामना गर्नु र सही बाटो पहिल्याएर ठीक समयमा ठीक दिशामा हिँड्नु हिजोका दिनमा भन्दा झन् बढी चुनौतीपूर्ण छ । तर पनि यो बाटोमा इच्छुकहरू जन्मिँदैछन् , हुर्किँदैछन् । ‘प्रतिबन्ध’ का पर्खालहरूविरुद्ध तिनले गर्ने संकल्प र तिनको लडाईं कम पेचिलो देखिन्न ।त्यसकारण पनि यतिखेर तिम्रो स्मरण पाइला पाइलामा हुँदै छ । त्यसकारण पनि तिमी हरदम यतै कतै छौ ।
लक्ष्मीप्रसाद देवकोटा भन्छन् ‘सहिद कीर्तिपापासु झिल्के पुतली हो( वीरहरू) ।’ मानिलिऊँ तिमी कीर्तिपिपासु नै हौला । तर तिमीजस्तै चोखो हृदयका मानिसहरूको त्यो पिपासाले चेतनाको नयाँ प्रहर जुरुक्क ब्यँुतेको जति सत्य हो तिमीजस्ता मानिसहरू मर्न तयार नभएको भए आज पनि मजस्ता कयौं मान्छेहरूका ओठ र औंलामा भाषाको क्रान्ति सम्भव थिएन भन्ने पनि उत्तिकै सत्य हो ।
प्रिय कवि ‘इच्छुक’, मानवतामाथि तिम्रो प्रेम , तिम्रा कविता, तिम्रो संकल्प र तिमीले बुनेर छोडेका सपनालाई लाख सलाम !
Comments
Post a Comment