प्रतिबन्धित समयसित संवाद


प्रतिबन्धित समयसित संवाद

 

                                                                               –सरिता तिवारी


सन् १९४०मा छापिएको निबन्ध ‘इनसाइड ह्वेल’ मा जर्ज अर्वेल भन्छन्, ‘हामी करिब करिब निश्चित रुपले तानाशाही युगमा प्रवेश गरिरहेका छौं । यस्तो युगमा विचारको स्वतन्त्रता सुरुमा घातक पाप र पछि एउटा अर्थहीन शब्द बन्न पुग्छ ।’ राजनीतिमाथि कलात्मक ब्यंग्य र जोखिमपूर्ण भविष्यकथन गर्ने अर्वेलले आजभन्दा असी वर्ष अघि  नै भन्दिए, ‘अब स्वतन्त्र ब्यक्ति संसारबाट नष्ट गरिने छन्’ । यद्यपि पूर्ण रुपले स्वतन्त्र ब्यक्तिको कल्पना मात्र पनि सायद आजको संसारका लागि दुर्लभ कुरा हो । स्वतन्त्रताको सापेक्ष अर्थ विचारहीनता निश्चय पनि होइन । यसको अर्थ विचारमा शासकीय सत्ता–निरपेक्षता होला । निर्भिक र कुनै पनि प्रभाववृत्तभन्दा बाहिरको सहज अभिब्यक्तिका परिवेशको कुरा होला । 

आजको समाज पुँजिवादको चरममा छ । अहिले विवेक मानौं बजारमा किन्न पाइने चिज हो । त्यसको क्रयमूल्य छ । निश्चित रकम वा दस्तूर तिरेपछि त्यो खरिदबिक्री हुन्छ । यसैपनि  विचारवान हुनु, सोच्नु र तथ्यहरूलाई हत्केलामा राखेर नाङ्गा आँखाले परीक्षण गर्नु झन्झटिलो मात्रै होइन एउटा जीवनको सारा फुर्सद चाहिने महँगो काम हो । कसलाई फुर्सद ? यो त ‘केही काम नपाएर’ वा  अर्थोपार्जनको भ्याइनभ्याइबाट टाढै बस्ने धैर्य हुनेहरूले गर्ने कुरा हो । असीम पँुजीको कल्पनाले पुरिएर एक बारको जुनी धन्य गर्ने उद्योगले घेरिएपछि मानिसलाई आफ्नै विचारको परीक्षण गर्ने फुर्सद कहाँ मिल्छ ? पैसा र सुखसुविधाका लागि जसो गर्न पनि तयार हुने समय हो यो । ‘जाबो’ तीन पौण्डको रेडिमेड गिदीलाई दाउमा राख्नु कुन ठूलो कुरा हो र ? यस्तो बेला मेरो विचार बिक्रीमा छैन भन्नु मात्रै पनि एउटा ठूलो प्रतिरोध हो ।

सिंगो एक वर्ष विचारको घना संक्रमणमा बिताएपछि अचानक एक दिन मलाई आभाष भयो, मैले यस्ता धेरै वर्षहरू संक्रमणमै बिताएकी रहेछु । फरक यत्ति हो , ती संक्रमणहरूको पहिचान गर्ने सामथ्र्य मसित थिएन । अथवा भएपनि मभित्र त्यो सामथ्र्य छ भन्ने कुरो मलाई थाहै थिएन । यति थाहा पाउन्जेल मेरो निधार असंख्यपल्ट सत्यजस्ता भ्रम र भ्रमजस्ता सत्यले ठडिएका अँध्यारा भित्ताहरूमा ठोक्किएर रक्ताम्य बनेको रहेछ । 
बुझेर ल्याउँदा संक्रमण आजीवन चलिरहने प्रक्रिया रहेछ । एउटा गतिशील मानिस हरक्षण विचारको संक्रमणमा हुँदोरहेछ । यो अध्यात्मिक कम र समाज–राजनीतिक परिघटना ज्यादा हो । यो, ब्यक्ति ‘राजनीति सचेत’ हुनुको सुख र दुःख दुबै हो । समय रेखामा उभिएर अगाडि र पछाडि हेर्दा म आफूजस्तै धेरै मानिसहरूको पंक्ति देख्छु । ती मानिसहरू जसलाई वर्तमानका दृश्यहरूले औडाहा छुटाउँछन् तर भविष्यमाथि असंख्य उर्जा र आशा तिनैसित छ  । तिनीहरू भयंकर असन्तोषी त छन् तर आफ्नो स्वाधीन विवेक बेच्न तयार छैनन् । 

मुखामुख संवाद

जर्ज अर्वेलले भनेको वाक्य सही साबित नभएको भए हामी धेरै सन्तोषी मान्छे हुँदा हौं । सन्तोषी हुनुमा गतिरोध छ । त्यहाँ प्रश्न हुन्नन् ,केवल मौन तृप्ती हुन्छन् । शालीन चुपहरू हुन्छन् । त्यसो हुँदा हामी बडो ‘भद्र’ देखिँदा हौं । धेरैका प्रिय हुँदा हौं । बोलेर ‘छुच्चो’ बनिने स्थिति नै नआउँदो हो । तर कोही छुच्चो नबनी दुनियाँ बदलिन्छ ? कसैले जोखिम नमोली मान्छेका अघिल्तिर बनिबनाउ सुख हाजिर हुन्छ ? आजसम्मको इतिहासमा कुनै मौनले सत्यका पत्रहरू खोलेको तथ्य छ ? 

कुनै पनि गौरवमय इतिहास गतिहीन वर्तमानले अनुचित ब्याज खाने साँवा होइन । इतिहास गतिशील वर्तमानको ‘ब्याक अप’ हो । यो अनुभवहरूको कुन्जी हो । दिशानिर्देशक हो । त्यसले देखाएका बाटा अख्तियार गरेर वर आइसकेपछि फेरि पछिल्तिर फर्कने काम इतिहासमाथिको धोका हो । 

इतिहास प्रतीक र ट्याग मात्रै हो र त्यसको ‘लेबल’ लगाएर हिँडेपछि जस्तासुकै अपराध पनि क्षम्य हुन्छन् भन्ने भ्रमले केही मानिसहरू मदोन्मत्त साँढेजसरी हुँकार गर्दैछन् । समावेशी लोकतन्त्र र समाजवादको आवरणभित्र तिनले बुनिरहेको मायाबी इन्द्रजाल एउटा चटके खेला मात्रै हो भन्ने कुरा शक्ति र उन्मादको प्रभाव बाहिर बस्ने जो कसैले सजिलै बुझ्छ । तर ती मानिसहरूलाई यसैगरी बेवकुफ बनाइरहन सकिन्छ भनेर लागिरहेकै छन् । इतिहासमाथि धोका दिने उद्यम गर्नेलाई इतिहासप्रति गर्व गर्ने र त्यसको ‘लिगेसी’ दाबी गरिरहने अधिकार रहन्छ कि रहन्न ? यो प्रश्नको सामना नगरी आजका छलफल अगाडि बढ्न सम्भव छैन । चाहे कुनै राजनीतिक दलमाथि प्रतिबन्धको विषय होस् चाहे महिला र उत्पीडितहरूमाथि प्रकट अनुदारताको मुद्दा होस् यो ब्यवस्थालाई सबैको साझा र अपनत्वसहितको बनाउने कुरामा देखिएको चरम दुरुत्साही प्रवृत्ति विचारको भयाबह ‘बुम¥याङ्’ हो । यसले ती केही मानिसलाई मात्रै सिध्याउँदैन लोकतन्त्रको समेत प्राण हरेर लिन्छ । जुन लोकतन्त्र(प्लस गणतन्त्र)का लागि यति ठूलो उत्सर्ग भएको छ त्यसको मर्म नै मारिसकेपछि यहाँ कोही जिउँदो रहला र ?   
      
हरेक वर्तमान इतिहासको नयाँ परीक्षण हो ।आजकै कुरा गरौं । मुक्त समाजको यात्रा थालेर यहाँसम्म आइपुग्दा हामीले सबैभन्दा धेरै उच्चारण गरेको शब्द हो ,संवाद । पारदर्शी, बिना छक्कापन्जाको , सहज र सहिष्णु संवाद । हामी यस्तो संवादका लागि तयार भए मात्रै हामीले हिँडेर आएको बाटोमाथि न्याय हुने हो । अन्यथा हाम्रो यात्रा पश्चगमन नै हुन्छ  । जहाँ निर्भय विचार विनिमयको बाटो छेकिन्छ , जहाँ बाहुबल र सत्ताभक्ति आम संस्कृति बन्छ , जहाँ दिमागदेखि आचरणसम्म विवेकमाथि पैसा र शक्तिको छाया हाबी हुन्छ त्यहाँ संवाद जहिल्यै संकटमा पर्छ । पछिल्लो समय हाम्रा थाप्लामाथि रिँगिरहेको सबैभन्दा ठूलो संकट यही हो ।

समानान्तर 

विचारको ओभरडोजले निदाएर पुरापुर ‘हाइबर्नेट’ भई बितेका धेरै दिन र रातपछि मेरो विवेकले झक्झक्याएर भन्यो, यो उकुच परेको समयको सामना गर्न आखिर विचारहरूको हस्तक्षेप नै चाहिन्छ ! निरन्तर संवादको प्रस्ताव प्रायः शासकले गर्दैनन् । पारदर्शी छलफलको चिन्ता शासनको वरिपरि रिँगेर अनुचित लाभांशमा तर मार्ने अनुचर वृत्तले पनि गर्दैन । कथम् यसो भइहालेमा कवि, लेखक ,आलोचकहरूले फूल, पात र चराहरूका आख्यान लेख्ने फुर्सद पाउँदा हुन् । त्यसैले पनि हरेक भ्रष्ट र अनुदार सत्ता लेखकहरूलाई बेफुर्सदी बनाउने एउटा एजेन्ट बन्न पुग्छ ।

मेरो अनुभव छ , विचारहरू ब्यक्ति आफैंभित्र पनि जति खाँदिन्छन् त्यति बिष्फोटक बन्छन् । विष्फोटन स्वभावैले अनियन्त्रित र भयंकर हुन्छ । यसको प्रभाव गहिरो हुन्छ र यसबाट सिर्जित दुःख पनि गहिरै हुन्छन् । त्यसैकारण विचारमाथिको बाहिरी निशेध र पर्खालजत्तिकै भयानक कुरा हो हामी आफैंभित्रको मौनता । यो मौनता तोड्न सबैभन्दा पहिले हामी आफैं आफूसित संवाद गर्नुपर्ने रहेछ । आत्मसंवाद बाहिरी दुनियासितको संवादको रिहर्सल पनि रहेछ । 

प्रत्येक वस्तुको प्राइस ट्याग लागेको यो जुगमा विचार मात्रै अछुतो रहने कुरै भएन । तर सही मानेमा विचारको मूल्य सत्यको सामना र साक्षात्कार गर्ने आँट नै हो ।त्यसको प्रतिफल ब्यक्ति स्वयम्ले भन्दा समाजको बृहत्तर हिस्साले पाउँछ ।सत्यको सामना गर्ने जोखिम अरु कुनै ब्यक्तिलाई भन्दा लेखकलाई ज्यादा छ । हरेक अनुदार ब्यवस्थामा लेखेकै निहुँमा, बोलेकै कारण लेखकले मृत्युसम्म बेहोर्नुपर्ने नियति हामीले देखेसुनेकै छौं । तर लेखक हुँ भन्ने मान्छेलाई सत्यसित पीठ फर्काउने सुविधा छैन । 

लेख्नु र बोल्नु जब एउटा खास काम बन्छ, त्यसको पनि शुद्धताजाँच हुन्छ । लेख्नुलाई एउटा जरुरी कार्यभार ठहर गरेपछि झुठको कुनै पनि गुन्जाइस असम्भव छ । बोल्नुको जोखिम देख्दा नबोलीकन,छुच्चो नभैकन ‘सुखी र भद्र’ जीवन बाँच्ने सजिला तरिका पनि नदेखिने होइनन् । तर ती सुखी र भद्र लेखकहरूलाई पनि असंख्य दुःख र तनाव छन् । तिनलाई कसैले दागा धर्दैन ,कसैले चुनौति दिन्न । तर पनि ती घनघोर दुःखमा छन् । तिनका दुःख के होलान् ? 

सतहमा धेरै बहसहरू छन् । सतहभित्र भूमिगत बहसका अनेक रिहर्सल र आत्मसंवाद छन् । तिनको निकास भएन भने एउटा बिष्फोटको अप्रिय आँधी निश्चय पनि आउने छ । त्यसले आजका शासकीय अहंकारलाई मात्रै होइन इतिहासका उपलब्धीलाई पनि सँगसँगै बढारेर लैजाने सम्भावना उत्तिकै डरलाग्दो छ । उदार संवाद र अरुलाई सुन्ने धैर्यको सख्त अभावमा अतितका हरेक सत्ताजस्तै आजको सत्ता पनि आफ्नै कारणले धराशायी हुन्छ,हुन्छ । 
सामाजिक सन्जालमाथि समेत नियन्त्रण गर्ने ‘थ्रेट’ भैसकेको , सहिष्णु संवादको चरम अभाव खट्किएको यो बेला तानाशाही र स्वतन्त्राको छनोटको दायित्व  सत्ताधारी वर्गसित मात्रै होइन आम मानिससित पनि छ । हामी केको पक्षमा छौं ? अब हरेक जनसामान्यले आफ्नो पक्ष छनोट गनैपर्छ । हामीले आफ्नो स्वतन्त्र विवेकको उपयोग गर्नैपर्छ । सत्तापूजा र अपेक्षाहरूको ¥यालसिंगानमा घाँटीसम्म डुबेका अनुचरहरूको भीडबीचमा आत्मप्रशंसाले मुग्ध सत्तासित समानान्तर रेखामा निर्भय उभिएर हामीले सामना गर्नुपर्ने चुनौति धेरै छन् । 

(चैत्र,५ मंगलबार २०७५मा कान्तिपुर दैनिकको समवेत स्तम्भमा प्रकाशित)

Comments

  1. सुन्दर संसार का लागि मौनता तोड्नु जस्तो साहसी काम अरु हुदैन। प्रेरक लेख ।

    ReplyDelete
  2. Our social institutions are quite reluctant to spread the social awareness of equality, freedom and justice. Major political parties are also in dilemma,and some leaders mainly establishment is trying to engage society in status-quo.In this situation what can be a productive way to make society more conscious and rational? Very few people read such type of writing and change their thinking.Do you see any other parallel way along with writing to change social mind-set?

    ReplyDelete
    Replies
    1. Of course not Sumanjee. There are many challenges to speak but we have to dare . I think, to be vocal is to become revolutionary. If we want change we have to break the mind set first. It is only a small effort from my side. Thank you very much for compliments !

      Delete
  3. Thank you so much madam, I have been trying to read and understand the essence of your writings.Similarly, I am reading Aahuti,Yug Pathak, Pradip Giri, Ujjwal Prasai,Sabitri Gautam and so many other progressive writers to understand society in different perspective.My personal experience is that reading and writing is one thing ,and to act as a rebellion in real society is quite challenging .

    ReplyDelete

Post a Comment

Popular posts from this blog

तपाईं कहाँनेर उभिने ?

'वाद' र 'आन्दोलन'लाई दोषी संरक्षणका खेलको रक्षाकवच नबनाइयोस्!