'वाद' र 'आन्दोलन'लाई दोषी संरक्षणका खेलको रक्षाकवच नबनाइयोस्!
कुनै वाद,विचार वा आन्दोलन ब्यक्ति वा संगठन कसैका पनि दोष छोप्ने र विषयान्तर गर्ने अस्त्र बनाइनु लज्जास्पद छ। एउटा निश्चित घेरो र स्वार्थ-समूहको अक्षमता , यौन हिंसाजस्तो विषयमा संगठनका मुख्य जिम्मेवारहरूले खेलेको दोहोरो-तेहरो भूमिकापछि हिंसापीडितले महसुस गरेको संगठित घेराबन्दी र त्यसका दुर्भाग्यपूर्ण परिणतिलाई वादको खोलभित्र लुकाएर उन्मुक्ति लिन खोज्नु उक्त 'वाद'कै बदनामी गर्ने हर्कतबाहेक अरु केही होइन । मार्क्सवाद या अरु कुनै पनि वादलाई त्रिपाल बनाएर ब्यक्तिगत कुण्ठाहरू, सांगठनिक असफलता र पीडक-संरक्षणका गुप्त-दृश्य भूमिकाहरू छोप्ने दुस्साहसले यौनजन्य हिंसाजस्तो मुद्दामा गरिएको न्यायिक अपिल र संघर्षलाई खारेज गर्न असंभव छ।
सानो,भर्खर केही अर्थपूर्ण प्रयत्नले बन्दै गरेको जिज्ञासु युवाहरूको संगठन हो भनेर पीडितले पर्याप्त सदाशय राख्दाराख्दै पीडक संलग्न संगठनका केही ब्यक्तिहरूका धुर्त्याईंपूर्ण भूमिकाहरूको 'नोटिस' नलिन वा तिनलाई देखेको नदेख्यै गर्न सकिएन । यस्तो हर्कतले त्यहाँभित्र रहेका असल मनोवृत्तिका सिकारु सहकर्मीहरूलाई गुमराहको अँध्यारो सुरुङभित्र हुलिरहेको त छ नै, एउटा विचारधारा र आन्दोलनको मर्मलाई साँघुर्याएर स्वार्थरक्षाको कवच बनाइदिने खतरनाक अवस्था पनि निम्त्याएको छ। यसले भविष्यमा विचारको खोलले ढाकिएपछि जस्तोसुकै गल्ती र अपराध पनि लुकाइन र पीडितको अपिललाई विषयान्तर गर्दै खारेज गर्न सकिन्छ भन्ने नजीर फेरि एकपटक स्थापित गर्ने छ । कम्युनिस्ट आन्दोलनलाई यस अघि पनि बारम्बार प्रश्न र शंसयको घेराभित्र राख्ने यस्ता नजीर छन् जसलाई चिरेर नयाँ न्यायिक नजीर निर्माण गर्ने चुनौतीको बीचमा समयले नयाँ पुस्ताको खरो परीक्षा माग गर्दै छ। यस्तो बेला वादविशेषलाई तेर्स्याएर अपराधको खुला पैरवी गर्न अघि सर्नु नयाँ युगको विचारधारात्मक संघर्षका लागि भयंकर जोखिमपूर्ण हुने स्पष्ट नै छ। कुनै ब्यक्तिको गलत कार्यको मूल्यमा सिंगो विचारधारात्मक आन्दोलनलाई यो जोखिमभित्र फँसाइदिनु कुनै हिसाबले पनि जायज ठहरिँदैन । यति साधारण कुरा पनि बेलैमा बुझ्न सकिएन भने यो कम्युनिस्टहरूको जगहँसाईको अर्को नमूना परिघटनाको रुपमा इतिहासमा कुख्यात बन्ने छ र यस्तो दोषको भार अहिलेको नयाँ पुस्ताले आजीवन बोक्नुपर्ने छ।
कुनै पन्थ, सम्प्रदाय वा पहिचानलाई अपराधको रक्षाकवच बनाइनुको दुष्परिणाम भारतका आशाराम बापु देखि नेपालका सिद्धबाबा,रामबहादुर बम्जन लगायत मुद्दाले देखाएका छन् । यस्तै दुष्प्रयास 'वाद' को नामबाट गरिन्छ भने त्यस्ता बेवकुफीपूर्ण हर्कतको प्रतिवाद जहिले र जहाँसुकै उभिएर पनि गरिन्छ।
न्यायपूर्ण आन्दोलनको मोहरी सिर्जना गरेर समाज बदल्न हिँडेको र अहिले पीडितलाई सहयोग गरिरहेको दाबी गरेको संगठनका केही ब्यक्तिले आफू समक्ष यौनहिंसाको उजुरी आइसकेपछि सांगठनिक परिपक्वता , सुझबुझ र न्यायसंगत पहलको बाटो छोडेर 'आफ्नो मान्छे' बचाउमा गरेका गैरन्यायिक अभ्यास र ती थाहा पाएपछि पीडितले व्यक्त गरेका असन्तुष्टिलाई सिंगो विचारधारामाथिको आक्रमण करार गरेर यतिखेर 'न्याय' को अवधारणालाई नै विषयान्तर गर्ने 'रणनीति' लिइएको बिडम्बनापूर्ण अवस्था देखिएको छ ।आफ्नो प्रतिवादमा पीडितको चरित्रहत्या गरेर वातावरणलाई सकेसम्मको विषाक्त ,धमिलो र अन्योलपूर्ण बनाइदिने पीडक पक्षको कृत्यमा सम्पूर्ण रुपले मौनता साँध्ने संगठनका केही ब्यक्तिहरू अहिले वादको सिरकभित्र बसेर Victim blaming को नयाँ खेल खेल्न जसरी उद्दत भएका छन्, त्यो आत्मरक्षा र आत्मपैरवीको सबैभन्दा तुच्छ शैली हो भन्ने स्पष्ट छ। आफूलाई मार्क्सवादको एकमात्र 'प्राधिकार' र 'पेटेन्ट राइट' होल्डरका रुपमा पेश गर्दै पन्थ/वादविशेषलाई शंखेकिराको खोलजसरी आफूहरूका दोष छोप्न उपयोग गर्नु वास्तवमै दुर्भाग्यपूर्ण हो।
मेरो नम्र आग्रह छ, यसरी वादको नाम बेचेर कुण्ठा र षड्यन्त्रको बजार चलाउने यो 'रणनीति' तुरुन्त बन्द गरौं ! यस्तो हर्कतले मार्क्सवाद आलोचक र अर्को खेमाका आक्रमणबाट होइन, उसका शुद्ध उत्तराधिकारी दाबी गर्नेहरूकै हातबाट सबैभन्दा बढी असुरक्षित छ, तिनैका कारण प्रश्नको घेराभित्र छ, विचारधारात्मक संकटमा छ भन्ने कुरा नै पुष्टि हुने हो। यसको सर्वाधिक क्षति स्वयं मार्क्सवादी वृत्तलाई हुने हो।
संगठनसम्बद्ध प्रिय साथीहरू,मार्क्सवादको खोलभित्र पसेपछि र यसको नाम भजाएपछि आफूमाथिका प्रश्नबाट बँचिन्छ भन्ने भ्रमबाट छिटै बाहिर निस्कनुस् र यसलाई भ्रष्टीकरण गर्ने अपराधबाट जोगिनुस। युवा पुस्ताले आन्दोलनलाई भिन्दै उदारता र चेतले बोक्न र बिस्तार गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नुपर्नेमा यसरी संकीर्णता र आत्मप्रलापको भुलभुलैयाभित्र फँस्नु मार्क्सवादी स्वप्नभंगको अर्को दुर्घटना निम्त्याउनु हो।
तपाईंहरूले म विरुद्ध अफवाह र दुराग्रहको खेती चलाएको थाहा हुँदाहुँदै पनि, आजका मितिसम्म पनि म तपाईंहरूको शुभेच्छु नै हुँ। मेरो स्वस्थ आग्रहलाई फेरि पनि मेरो कमजोरी ठान्ने गल्ती नगर्नुहोस् । धन्यवाद !
(नोट: मैले कुनै समय कुनै लेखमा के लेखें भन्ने कुरालाई आधार लिएर ममाथि खनिने हो भने कुरा बेग्लै हुन्छ। त्यसबारे बहस गर्ने उपयुक्त समय अहिले होइन । समय आउँदा बहस गर्न म तयार छु।)
Comments
Post a Comment