कसको भाषा ? कसको घर ?

कसको भाषा ? कसको घर ?


कसको ओठमा कुन भाषा सुहाउँछ ? कुन भाषाको प्रयोक्ता को हुने ? कस्ता शब्द कसले बोल्ने ? नियन्त्रक ,कठोर, आदेश र अनादरसूचक भाषा कसको ओठमा सुहाउँछ ? र कसले बोल्नुपर्छ सदावहार विनम्र, सुकोमल र स्वीकृतिको भाषा ? यो कुराले महिला–पुरुष दुवैको मनोविज्ञानमा बरको जराले झैं भुइँ पक्रिएर बसेको छ । जुनसुकै सत्ता टिकाउन भाषिक उपकरण सबैभन्दा बलियो औजार हो ।


सरिता तिवारी

भेट पहिलो थियो । व्यक्तिगत स्तरका कुरा सकिएर गफ सार्वजनिक विषयतिर मोडिएको थियो । पहिलोपल्ट भेट्दा नै उसको मुखबाट निस्केका यी शब्दले मलाई तीनछक पारेको थियो ।

सामान्यतया यस्ता शब्द पुरुषको खाताभित्र पर्ने, पुरुषकै स्वामित्वका ‘मर्दाना’ लवज ठानिन्छन् । महिलालाई यसरी बोल्न ‘एक्स्ट्रा बोल्डनेस’ चाहिन्छ । यदाकदा आफ्नो लेखनमा तथाकथित ‘फोहोर’ शब्द त म पनि प्रयोग गर्ने गर्छु । तर बोलीचालीकै भाषामा यी शब्दसित अभ्यस्त छैन । वक्ता आवेगको ट्युबभित्र यस्तै केही शब्दका हावा भरिरहेकी थिई । म सुन्दै यही सोच्दै थिएँ, उसले कसरी यी शब्द बोल्न सकी ? ऊ एउटा सुसंस्कृत परिवारको प्रतिनिधित्व गर्ने बौद्धिक महिला, भाषिक ब्यवहारमा यी शब्दको बानी पर्न उसले कति धृष्टता जुटाइहोला ? अभिव्यक्तिको यस्तो शैली, यस्ता शब्द महिलाको लागि ‘डेयरिङ’ कुरा नै हुन् । के यस्ता शब्दको प्रयोगले हामीलाई पुरुष बराबरको शक्ति र हैसियत दिन्छ ? कथित ‘स्साला... मु...’ हरूको जिब्राको भाषा सिकेर उनीहरूतिरै आक्रमण गर्नुले हाम्रो मनोविज्ञानलाई साँच्चिकै बलियो बनाउँछ ? कि बलियो भएको भ्रम दिएर छोड्छ ? धेरै दिनसम्म मलाई यी प्रश्नहरूले हिर्काइरहे । 
जतिसुकै कठोर र असुविधाजनक भए पनि तिनै शब्द पुरुषले बोल्दा हामीलाई सुपाच्य नै लाग्छ, महिलाले बोल्दा ‘अड’ । हामीलाई लाग्छ, यस्ता शब्दमाथि स्वामित्व प्राप्त ‘प्रिभलेज्ड’ लिङ्ग पुरुष नै हो । त्यो ‘हामी’ भित्र पर्ने ‘स्टेरियोटाइप्ड’ सामूहिक मनोविज्ञानको सिकार कति हौंला ? भाषाका प्रयोक्ता दुवै लिङ्ग भए पनि भाषासँग महिला र पुरुषको सम्बन्ध असमान छ । यसको कारण संरचनामा छ । भाषाविद्हरू भाषाको संरचनालाई नै पुरुषवादी मान्छन् । नारीवादी विश्लेषकहरू भाषाका माध्यमबाट संसारलाई वर्गीकृत र ब्यवस्थित मात्र होइन ‘सत्य’ लाई समेत ‘मनुपुलेट’ गरेर लामो समयदेखि धोका दिइएको जिकिर गर्छन् । ‘मेन मेड ल्याङ्वेज’ का लेखक डेल स्पेन्डर अंग्रेजी भाषामाथि विमर्श गर्ने क्रममा पितृसत्ताले भाषाकै माध्यमबाट समाजमा आफ्नो वर्चस्व कायम गरिरहेको मान्छिन् । उनका अनुसार भाषा पुरुष निर्मित र पुरुषकै लागि निर्मित हो । यसमा पुरुष मात्र मानक र सामान्य हो, पुरुष घेराबाट बाहिर रहेका सबै विचलन हुन् । हामीले भाषा सामाजिक वस्तु हो भन्ने पढ्यौं त्यही बुझ्यौं । तर भाषा समाजका सबै मानिसको साझा सम्पत्ति हो कि होइन भन्ने विषयमा ध्यान दिएका छैनौं । भाषा राजनीतिकसमेत वस्तु हो भन्ने कुरासम्म त हामी पुगेकै छैनौं । 


‘घर’, घरभित्र र घरबाहिर
भाषाको राजनीति


नेपाली समाजमै हेरौं, भाषामाथि लैङ्गिक पहुँचको कुरामा जनजाति समुदाय खस आर्यभन्दा धेरै हदसम्म लोकतान्त्रिक र उदार लाग्छन् । उनीहरूकोमा भाषाको दोहोरो मापदण्ड उतिसारो सुनिँदैन । अभ्यस्त जनजाति जिब्रोले नेपाली बोल्दासमेत तिनको भाषाको समाजवादी विशेषता प्रकट गरिहाल्छ । बा आयो । आमा आयो । सरले पढायो, आदि । नेपालीका उच्च आदरार्थी शब्द प्रयोग गर्दा बरु उनीहरूको जिब्रो लट्पटिन्छ । जनजाति संस्कृतिमा महिलाहरूसँग कतिपय विशिष्ट प्रकारका अधिकार सुरक्षित छन् । संस्कृतिको प्रतिच्छाया तिनले प्रयोग गर्ने भाषामा सहजै प्रतिविम्बित भएको देखिन्छ । नेपालमा निम्नवर्गीय दलित समुदायका महिलासमेत घर परिवारभित्र बोलिने भाषामा बाहुन–क्षत्री समुदायका महिलाका तुलनामा धेरै स्वन्त्र लाग्छन् । नेपाली भाषा राजा र रैती, मालिक र नोकर, लोग्नेमान्छे र स्वास्नीमान्छेले बोल्ने फरक फरक काइदा र कानुनको रीत भएको संस्कृत भाषाको प्रसार हो । यसमा सहजताभन्दा आडम्बरको मात्रा बढी छ । नेपालीलगायत संस्कृत स्रोतबाट विकसित प्राय: भाषामा अनादरार्थी, आदरार्थी र उच्च आदरार्थी कोटिहरू धेरै छन् । नेपालीमा त अतिउच्च आदरार्थी शब्दसमेत छन् । त्यस्ता शब्दमाथिको प्राथमिक अधिकारीे भनेको राजा महाराजा, मालिक र पुरुष नै हुनुपर्छ भन्ने त ‘व्याकरणसम्मत’ कुरा नै भइहाल्यो । व्याकरणले तोकेको लिङ्ग व्यवस्थामा गहिरोसँग हेर्नुस्, हरेकजस्तो क्रियापदमा लैंगिक पृथकता जनाउने अलग–अलग साँचा छन् । तपाईंको जिब्रो ती साँचाको खाँचभित्र अट्नैपर्छ । नभए तपाईं अशुद्ध मात्रै होइन असभ्य र अशिष्ट भाषाको प्रयोक्ता भनिने खतरा रहन्छ ।
नेपाली भाषामा उपलब्ध उखान, टुक्का र प्रतीकहरू हेर्नुस् ,ती कति पुरुषानुकूल र महिलाप्रति हेयकारी छन् ! ग्यारेन्टी दिएर भन्न सकिन्छ महिलालाई यतिबिघ्न हीन देखाउने उखान, टुक्का र प्रतीकहरू कुनै महिलाले बनाएका हुँदै होइनन् । यौनिक विम्बको समेत प्रयोग गरेर रचिएका कतिपय उखानादिका आधारमा पनि भाषा सामूहिक (महिलासहितको) निर्मिति हो भन्ने कुरा सजिलै अस्वीकार गर्न सकिन्छ । विद्वान् अन्स्र्ट फिसर भाषाको उत्पत्ति सामूहिक श्रमको सिलसिलामा भएको मान्छन् । प्रश्न उठ्छ, सामूहिक श्रमको प्रक्रियामा महिलाहरू कस्तो खालको श्रममा सहभागी थिए ? जनसंख्याको बराबरी हिस्साका महिलाहरू सक्रिय भएको श्रमसँग जोडिएका शब्दहरूको सार्वजनिक स्वीकृति र प्रचलन किन हुन सकेन ? अथवा भाषा निर्माणका ऐतिहासिक चरणहरूमा महिलाहरू कहीं, कत्ति पनि सामेल भएनन् ? वा गरिएनन् ? कि महिलाका सांस्कृतिक अधिकारहरू खोसिँदै र उनीहरू अपदस्थ हुँदै जाँदा महिलानिर्मित शब्द, तिनका रूप र अर्थहरू पनि खोसिँदै गएका हुन् ? 
भारतमा हाम्रै समकालीन एक जुझारु लेखक छिन् सुधा सिंह । उनी युरोप, अमेरिकामा बहसमा आइरहेका विभिन्न भाषा, मनोविज्ञान, समाजशास्त्रीय विश्लेषणका साथै भारतीय साहित्यको गम्भीर अध्येता हुन् । उनी भाषाले विचार मात्र बहन गर्ने नभई विचारको निर्माण समेत गर्ने हुँदा यो ‘सत्य’ को निर्माता हो भन्ने कुरो बारम्बार जोड दिएर भन्छिन् । उनका अनुसार, भाषाको व्याकरणिक संरचना, कोटि, अर्थ सबै पुरुषद्वारा निर्मित छन् र यिनको वैधता स्थापित गर्ने कामसमेत पुरुषद्वारा नै गरिएको छ । पुरुष भाषासँगै विचारको समेत जनक र प्रचारक बन्छ भने महिला त्यसको भोक्ता र प्रयोक्ता मात्र । यसप्रकार भाषामा रहेका विचार, विषय, प्रतिमान, उक्ति, तिनका अर्थ र ध्वनि सबै पुलिङ्गकेन्द्री राजनीतिका अस्त्रका रूपमा प्रयोग हुँदै आएका छन् । भाषामा मौजुद पुरुष पक्षधरतालाई निरपेक्ष ‘व्याकरणिक’ भनेर छोड्न सकिन्न । 
भाषाविज्ञानले भाषालाई मानिसले स्वत: आर्जन गर्ने ब्यवहार मान्छ । व्यक्तिको परिवार, जाति र समुदायको स्थितिअनुसार निर्धारित भएको भाषाको स्वरूप नै उसले सिक्ने हुनाले भाषालाई समाजप्रदत्त आर्जित सम्पत्ति मान्दछ । भाषाको आर्जनमा व्यक्तिको अग्राधिकार कति छ भन्ने कुरासँग समाजको आर्थिक, सांस्कृतिक,जातीय र लैंगिक स्वरूप जोडिएर आउँछन् । यो कुरा समाजभाषाविज्ञानको आधारभूत प्रस्तावना हो । वक्ताका यही स्थिति वा हैसियतअनुसार उसको मुखबाट निस्कने शब्दको रूप र ध्वनिगत भिन्नता तय हुन्छ । सांस्कृतिक स्थानमान (हाइरार्की) अनुसार मानिसको बोलीको स्थानमान निर्धारण हुन्छ हुने भएपछि भाषालाई निरपेक्ष सामाजिक वस्तु मान्न सकिन्न र यो व्यक्तिको निरपेक्ष आर्जन पनि होइन । भाषा सांकेतिक व्यवस्था त हो तर संकेतका मानकहरू नै दोषपूर्ण भएपछि, त्यसको व्याकरण नै एक आयमी भएपछि भाषा सामाजिक वस्तु हो मात्रै भनेर सुख छैन । यसो भन्नु एकाङ्गी लाग्छ, भयानक ठट्टा लाग्छ । भाषाको तथाकथित ‘सामाजिकता’ मा मानवताको यति ठूलो हिस्सा डरलाग्दोगरी गयल छ भन्ने तथ्य बिर्सन मिल्दैन ।
धेरैलाई लाग्न सक्छ, भाषा त गैरराजनीतिक कुरा हो । जेसुकैलाई पनि राजनीतिक भन्ने ? तर भाषामा मौजुद शब्दहरूमाथि वक्ताले अपनत्व अनुभव गर्न सक्दैन भने, बोलीको मान र त्यसले ध्वनित गर्ने अर्थमा वक्ताको वर्ण, वर्ग र जननेन्द्रियको केन्द्रीय भूमिका रहन्छ भने भाषा अमूर्त र गैरराजनीतिक कुरा होइन भन्ने कुरा स्वत: प्रस्ट छ ।
भाषाका लोग्नेमान्छे र स्वास्नीमान्छेजन्य भेदको चक्रव्यूहमा फन्फनी रिङ्दै हिँड्दा म कैयौंपल्ट आफैंलाई सोध्ने गर्छु , मैले आफ्नो भनिरहेको, आजसम्म बोल्दाबोल्दै मेरो जिब्रामा रसबस भइसकेको यो भाषा मेरो हो कि होइन ? एउटा पुरुष मित्रले झैं शब्दहरूको मन माफिक उच्चारण गर्न म सक्छु कि सक्दिनँ ? बालवयबाट युवा हुँदै विवाहित महिला बनें । जीवनसाथी बनें, बुहारी र आमा बनें । जेठानी, देउरानी, भाउजू, माइजू, काकीजस्ता नयाँ–नयाँ सम्बोधन पाएँ । यतिका नयाँ सम्बोधनमा एउटा ‘आमा’ बाहेक अरू जम्मै किन कृत्रिम लाग्छ ? स सानै झिल्कोले पनि क्षणभरमै समाप्त हुन सक्ने यी रूपायित सम्बोधन ! कुनै दिन मेरो ‘पत्नी’ हैसियत सकियो भने आफसेआफ सकिने अस्थायी सम्बोधन । मेरो छेउमै गजधम्म उभिएको एउटा प्राथमिक, विशिष्ट र ‘मूल’ अस्तित्वबिना यी द्वीतियक, गौण र सहायक सम्बोधन व्यर्थ छन् । सम्बोधनका ‘बायनरी अपोजिट’ मनोदशाहरूभित्र महिलाको अस्तित्व ओसेपमा उम्रिएको बिरुवाजस्तै हुन्छ । पेसागत जीवनमा अविवाहित हुन्जेल ‘मिस’ र विवाह भएपछि ‘म्याम’ को सम्बोधन पाउनु पनि अर्को उदेक लाग्छ । कारण, उही पेसाको पुरुष जहिल्यै ‘सर’ कहलाउँछ । अहिले पनि पेसाले प्राध्यापक हुँ । कतिपय विद्यार्थी आदरपूर्वक ‘गुरुआमा’ भन्छन् । उनीहरू के भनून्, भाषाले सिकाएका शब्द जे छन् त्यही भन्छन् । एकपल्ट कवितायात्रामा गाउँमा जाँदा एक स्थानीयले ‘कविज्यू र कविनीज्यूहरूलाई नमस्कार’ भनेको सम्झँदा अहिले पनि तिनको ‘इनोसेन्ट’ प्रयोगप्रति होइन, भाषिक व्यवस्थाको सीमाप्रति टीठ भरिएर आउँछ । रेडियोमा काम गरुन्जेल आरजे भनिन्थ्यो । बडा रमाइलो लाग्थ्यो । पछिल्लो समय कवि वा लेखक भनिँदा पनि कानलाई सन्चो लाग्छ । तर यो सन्चो अल्पकालीन भ्रम मात्र हो । दीर्घकालीन उपचारका लागि समाजको संरचनागत निर्मितिलाई नै बेस्सरी हल्लाउनुपर्छ । यसैलाई उलटफेर गर्नुपर्छ । भाषाको आधारभूत समस्या व्यक्तिबोली होइन समाज र संस्कृतिको जरामा छ । यो जरा खोतल्दा आजको समाजव्यवस्थाको केन्द्रमा भीषण कम्प उत्पन्न हुनु अनिवार्य छ । त्यो कम्पनले धेरै पुरुषहरूको अहङ्कारमा चोट लाग्ने छ, धेरै महिलालाई के के नमिलेको जस्तो पनि लाग्ने छ । तर यसरी हल्लँदा भाषासँगै सांस्कृतिक मानकका अनेकौं आयामको पुनर्रचना हुनेछ । त्यसपछि पुरानो सामाजिक व्यवस्थाका भाषालगायत धेरै पुर्जाहरू स्वत: अप्रासंगिक हुनेछन् । 

परिवार स्वास्नीमान्छेका शब्द सुन्न होइन उनीहरूबाट चुपचाप पूरा हुने कर्तव्यको अविच्छिन्न उपभोग गर्न चाहन्छ । त्यसैले महिलाका लागि मौनता र सहनशीलताका धेरै आचारसंहिता बनाइएका छन् । बुहारी र पत्नीको रूप वरण गरेपछि ध्वनि, लवज, सम्बोधन, शिष्टाचार आदि इत्यादिहरूको पूर्वाग्रही म्युजिकल चेयर सुरु हुन्छ । जहिलेसुकै पुरुषले नै जित्ने झ्याली खेल । विवाहसँगै भान्सा र जुठेल्नाको म्याराथुनसँगै हजुर, ढोग, दर्शनलगायतका नयाँ–नयाँ शब्दसँगको सतर्कता सुरु हुन्छ । यहींनेर सुनिने अप्रिय पदावली हो ‘अर्काकी छोरी’ । लोग्नेको घरमा कथित ‘अर्काकी छोरी’ एक–एक यस्तो सदस्य हो जोसँग शब्दभण्डार त छ तर तिनको अर्थपूर्ण प्रयोग गर्ने हैसियत छैन । माइती पक्षतर्फ पनि विवाहित छोरीलाई घरायसी प्रसंगमा बोलेको किमार्थ रुचाइँदैन । किनभने यो उसको घर होइन । उसोभए स्वास्नीमान्छेको घर कहाँ छ ? के घर नभएकै कारण महिलासित आफ्नै स्वामित्वको भाषा नभएको हो ? या ऊसित भाषामाथिको स्वायत्त अधिकार नभएका कारण उसको घर नभएको हो ? हाम्रो वक्तृताको अधिकार प्रत्याभूत हुन नसक्ने घरमा हामी कतिन्जेल ‘आदर्श बुहारी’ र ‘आदर्श पत्नीको’ को छवि जोगाउँदै भित्रबाहिर गरिरहने ? यदि यो ‘घर’ हाम्रो होइन भने हामीले आफ्नै घर बनाउनेबारेमा फरक तरिकाले सोच्ने हो ? अथवा ‘घर’ भन्ने अवधारणालाई नै अस्वीकृत गर्न सक्ने साहस बटुल्ने हो ? महिलाका लागि सदैव प्रतिकूल घरसम्बन्धी परम्परित धारणामा पुनर्संरचनाको व्यापक बहस जरुरी भइसकेको छ ।
घर भन्ने भावात्मक संरचनाभित्र महिलाको भाषिक स्पेस जति कमजोर छ त्यसैअनुसार उनीहरूको सांस्कृतिक हैसियत पनि कमजोर रहँदै आएको छ । आफंैलाई रित्याएर माया, ममता र समर्पण खन्याउन्जेल मात्र त्यो ठाउँ महिलाका लागि घर हुने, आफ्नो अधिकार र स्पेसको कुरा गर्नासाथ घर भँड्याएको आरोप लाग्ने । परिवारमा लोग्नेले स्वास्नीका लागि तँ सम्बोधन गर्नु ‘प्रेमको प्रदर्शनी’ हो । तर त्यहीँ स्वास्नीले बोलिपिच्छे ‘हजुर’ टक्र्याउनु अनिवार्य शिष्टता अरे । ‘सुशील र मर्यादित आचरणको प्रदर्शनी’ अरे । समान रूपले पुरुष र महिलाले दोहोरै ‘तँ’ कै प्रयोग गर्ने स्थिति हो भने त्यसलाई मायाको अभिव्यक्ति मान्न पनि नसकिने होइन । अचाक्ली माया लाग्ने मित्रलाई ‘तँ’ ले सम्बोधन गरेजस्तै लोग्ने वा स्वास्नीलाई ‘तँ’ को आदानप्रदान गरेर सम्बोधन गर्नु सहज र न्यायोचित पनि सुनिएला । तर लोग्नेलाई जतिबेलै सम्मानजनक उच्च आदरसूचक शब्दले ‘हजुर...हजुर’ टक्र्याउनुपर्ने अनि स्वास्नीले सुन्नुपर्ने हेयसूचक अनादरपूर्ण ‘तँ’ । हद्द हुँदा स्वास्नीले पाउने सम्बोधन ‘तिमी’ हो । लोग्नेले भन्ने ‘तँ’ लाई प्राकृतिक र सहज ठान्ने महिलाको पनि कमी छैन । तर तिनलाई त्यस्तो ठान्ने कसले बनायो ? केले बनायो ? यसको मनोवैज्ञानिक र समाजशास्त्रीय विश्लेषण गर्ने कसले हो ? यहाँ फ्राइडका सिद्धान्तको सूत्र प्रयोग गर्ने कि ग्राम्स्कीको हेजिमोनी थ्योरीको मिटर लगाउने हो ?
कसको ओठमा कुन भाषा सुहाउँछ ? कुन भाषाको प्रयोक्ता को हुने ? कस्ता शब्द कसले बोल्ने ? नियन्त्रक ,कठोर, आदेश र अनादरसूचक भाषा कसको ओठमा सुहाउँछ ? र कसले बोल्नुपर्छ सदावहार विनम्र, सुकोमल र स्वीकृतिको भाषा ? यो कुराले महिला–पुरुष दुवैको मनोविज्ञानमा बरको जराले झैं भुइँ पक्रिएर बसेको छ । जुनसुकै सत्ता टिकाउन भाषिक उपकरण सबैभन्दा बलियो औजार हो । त्यसैले जरुरी छ पुलिंगकेन्द्री व्यवस्थाको रूख होइन जरामा आक्रमण गर्नु । जरा भाषामा छ । जरा भाषाको रूप र कोटिमा छ । ध्वनि र अर्थमा छ ।
युरोपमा पँुजीवादी प्रबोधन युगसँगै महिला अधिकारका बारे गम्भीर बहस थालिए । महिला आफैं पनि सचेत आन्दोलन र क्याम्पेनिङहरूका नेतृत्वकर्ताका रूपमा प्रकट भए । महिला र पुरुषका जैविक र निर्मित दुवै खाले स्थितिबारे लगातार बोल्ने र लेख्ने कुराले तीव्रता पाए । लेखन र बौद्धिक बहसमा महिलाहरूको हस्तक्षेप बढ्यो । कतिपय पुरुष विचारक र अनुसन्धाताहरूले समेत नारीहरूको स्थितिमाथि ऐतिहासिक थेसिस प्रस्तुत गरे । नारीमुक्तिको पूर्ण राजनीतिक उद्देश्यको आन्दोलन हुँदै नारीवादी आन्दोलनका अनेक लहरले पछिल्ला दशकहरूमा महिलाहरूको सार्वजनिक वक्तृता ह्वात्तै बढेर आयो । त्यसको प्रभाव नेपाली परिदृश्यमा पनि उल्लेख्य रूपले देखियो । सगोलको परिवारमा कमजोरै रहे पनि ‘न्युक्लिअर’ परिवारको संरचनामा महिलाहरू बोल्ने कुराको थालनी भएको छ । यो परिवारभित्र महिलाको आर्थिक हैसियतमा आएको सुधारको प्रतिविम्बन हो । पब्लिक स्फेयरमा पनि फाट्टफुट्ट महिलाहरू निडर भएर बोल्न थालेका छन् । स्थापित ‘सत्य’ कति सत्य हुन् र कति झूट भन्ने खोतल्न थालेका छन् । यद्यपि स्वाभाविक हो, महिलाले यसरी बोल्दा पुरुषलाई ठूलो खतरा छ । किनभने स्थिति आफ्नो नियन्त्रणबाट फुत्किँदै छ भन्ने कुरोले ऊ भयभीत छ । यही भयले संस्थापनपक्षीय पुरुषलाई पारिवारिक र सामाजिक दुवै स्तरमा प्रतिरक्षात्मकसमेत बनाउन थालेको छ । फलस्वरूप उनीहरूमा महिलाको व्यक्तित्व र वक्तृत्वको सकेसम्म अस्वीकार र नसके बहिष्कार गर्ने प्रवृत्ति गोचर हुँदै छ । यो स्थिति घर,कार्यक्षेत्र,संघ–संस्था, प्रशासनिक निकाय, स्वतन्त्र लेखन र राजनीतिक वृत्त जुनसुकै क्षेत्रमा व्याप्त छ । 


अर्थ (पैसा) भर्सेस भाषा र भाषिक पुनर्संरचना 

माक्र्सवाद भाषालाई आर्थिक आधारमाथिको सांस्कृतिक अधिरचना मान्छ । भाषा वर्गीय उत्पादन हो भन्ने ऐंगेल्स भन्छन्, परिवारमा स्वास्नी सर्वहारा हुन्छे र लोग्ने बुर्जुवा । उनका अनुसार संसारको सबैभन्दा पहिलो वर्ग विभाजन महिला र पुरुषबीच भएको हो । आदिम साम्यवादबाट पितृसत्तातर्फ संक्रमित भएको समाजमा ऐतिहासिक रूपले पुरुषद्वारा विजित महिला घरेलु दासत्वको जुगौं जुग लामो भयावह खाल्डोमा पर्नेवाला थिए । धेरै सन्तान, ठूलो परिवार र कुटुम्बमार्फत धेरै श्रम सञ्चय र सञ्चालन गर्न पितृसत्तात्मक अर्थराजनीतिको विशाल नेटवर्क तयार हुनुपर्ने थियो । समाजशास्त्री चैतन्य मिश्रको टिप्पणी छ, ‘यसका लागि धेरै स्वास्नी, रखौटी र दासीमाथि निजत्व जमाउनु जरुरी थियो जहाँ श्रम, श्रमिक र प्रजनन् सबै सहजै उपलब्ध हुन सक्थ्यो ।’ परिणामस्वरूप कब्जा, भोग, स्वामित्व र निर्णयाधिकार सबै पुरुषको नियन्त्रणमा गयो । यसले परिवारभित्रको भाषा र ध्वनिगत अर्थमा व्यापक प्रभाव पारिदियो । अर्थमाथिको असीमित र निर्णायक अधिकारकै कारण पुलिंग राज्य, समाज र परिवारका हरेक तहमा सत्तासीन, कार्यकारी बनेको हो । अपवादस्वरूप कुनै कुनै परिवार वा समुदायमा महिला पनि कार्यकारी र निर्णायक देखिन्छन् । तर अधिकांशत: ती आलंकारिक रूपले मात्र महिला हुन्छन् । अर्थात् प्रजनन् अंगले मात्र महिला । तिनले बोक्ने विचार,तिनले पक्षपोषण गर्ने प्रवृत्ति महिलाका सामाजिक र सांस्कृतिक अधिकारका विपक्षमा छन् भने ती जुँगाबिनाका पुरुष अर्थात् शासक नै हुन् । महिलाका हातमा कार्यकारी अधिकार हुँदा पनि यस्तो किन हुन्छ त ? उत्तर सहज छ, त्यस्ता महिला पुरुष–प्रशासनको नायबी अधिकार प्राप्त पुरुषवादी मानकको फ्रेमभित्र ठीकसँग अटाएको अवस्थामा मात्र स्वीकृत हुन्छन् । पारिवारिक र सामाजिक कानुनमा महिलाको नैसर्गिक अधिकार र आत्मनिर्णय मान्य हुने गरी महिलाको नेतृत्व पुरुषलाई स्वीकार छैन । चाहे आमाहरूको नेतृत्व होस् या बज्यैहरूको । 
अपवादहरूलाई छोडेर अहिलेसम्म पनि महिला घरभित्रका अवैतनिक मजदुर हुन् । उनीहरूले गरेको श्रमको ‘इकोनोमिक भ्यालु’ नहुने भएकैले घरबाहिरको श्रम गरेर पैसा ल्याउने पुरुष सहजै भन्न सक्छ, ‘मैले कसैको कमाइ खाको छैन बुझिस् !’ यो निम्नवर्गीय पुरुषको मात्र होइन मध्यम र उच्चवर्गीय पुरुषको समेत साझा ‘ट्युन’ हो । पठित र कामकाजी महिलाले समेत आफूभन्दा धेरै पैसा कमाउने लोग्नेबाट दिनहुँजस्तो सुन्नुपर्ने वाक्य हो यो । महिलाका लागि यो अकथ्य तनावदायी शब्द हो । यसलाई अर्थराजनीतिक विश्लेषकहरू कसरी अथ्र्याउँछन् कुन्नि ? नारीवादी आँखाले हेर्दा यो पैसासँग जोडिएको लैंगिक अहंकारको एउटा अभ्यस्त ‘डायलग’ हो । ‘जिस की लाठी उसकी भैंस’ भनेजस्तै पारिवारिक व्यवस्था जसको पैसा (वा जसको धेरै पैसा) उसको घर, जसको घर उसको भाषा भन्ने सूत्रमा हिँडेको हुन्छ । यहाँ हातमा पैसा हुनु भनेको आर्थिक निर्णय र नियन्त्रणको स्वामित्व भनेर बुझैँं । यसले भान्सा, जुठेल्ना, पूजाकोठा र कोठेबारीलगायतका कम महत्त्वका ठाउँको भाषामा मात्र महिलालाई बोल्ने छुट प्रदान गर्छ । सूचना र मनोरञ्जनका नाममा सस्ता टीभी सिरियलका कीरा बन्ने छुट दिन्छ । तर अंशबन्डा, छोराछोरीको बिहाबारी, डिँगाबस्तुको बेचबिखन, लेनदेनका कारोबार, नयाँ संरचनाको निर्माणजस्ता महत्त्वपूर्ण पारिवारिक घटनाक्रमहरूमा महिलाको आवाजलाई निषेध गर्छ । पारिवारिक स्थानमानकै असर हो, सामाजिक भेला, कचहरी र समारोहमा समेत महिलाहरू अग्रणी स्थानमा उभिन पाउँदैनन् । कोही उभिन पुगिहाले भने उनीहरूको मतको सम्मान हुने अवस्था नगण्य हुन्छ । यद्यपि, पछिल्ला दुई दशकमा बढेको नेपाली महिलाको चेतनास्तर र उनीहरूले नाघेका देश, ज्ञान र कर्मक्षेत्रका सीमालाई कम आँक्नु हुँदैन । यसबाट पुरुषकेन्द्री आर्थिक अधिकारको विकेन्द्रणमा अपेक्षित क्रान्ति आउन भने सकेको देखिन्न । यसो नभई भाषाका मापकहरू बदलिने छैनन् । त्यसो त नेपाली समाजमा हातमै पैसा हुने स्वास्नीमान्छेको सङ्ख्या र प्रतिशत पनि बिस्तारै बढ्दो छ । देशभित्रै पँुजी लगानी, नोकरी वा वैदेशिक रोजगारीका नयाँ–नयाँ क्षेत्र र अवसरले गर्दा पछिल्लो समय नेपाली महिलाका हातमा पैसो त छ तर तिनीहरूसँग आफ्नै विवेकले त्यसको सदुपयोग गर्ने अख्तियारी छैन बराबर छ । जब पुरुषसरह एक सग्लो र समर्थ व्यक्तिका रूपमा महिलालाई सामाजिक स्वीकृति प्राप्त छैन भने हातमा भएका आलंकारिक नोटहरूले मात्र भाषाको पुनर्संरचनामा अपेक्षित भूमिका खेलिहाल्ने देखिन्न ।
विभिन्न क्षेत्र र पेसामा ‘प्लस टु जेनेरेसन’ को विस्तारसँगै केही शब्दले अर्थ बदलेका छन् । सिनेमा, फेसबुक आदिको प्रभावले पनि महिला र पुरुषबीच हुने सहज संवादमै पनि यस्ता शब्द सामान्य भइसकेका छन् । तिनीहरूमध्ये एउटा साझा शब्द हो, ‘यार’ । केही पहिलेसम्म पुरुषवाचक नाम पदका रूपमा रहेको यो शब्द पछिल्ला दिनसम्म आइपुग्दा पुरुष, महिला वा तेस्रोलिंगी सबैका लागि ‘फिट’ भइसककेको छ । पढालेखा मध्यम वर्गका युवाहरूले बोल्ने भाषा सुन्नुस्, त्यहाँ लिंग विभाजक भेदकहरू एकैखाले मात्र सुनिन्छन् । आपसमा बोल्दा तिनको भाषिक आत्मविश्वास बडा लोभलाग्दो सुनिन्छ । यसले पुरानो भाषिक प्रयोग र प्रचलनमा व्यापक विचलनको संकेत देखाउँछ । एउटै तह र प्रकारको सहशिक्षा, एउटै पोसाक, एकैप्रकारको जीवनशैली, सूचना, मनोरञ्जन र सामाजिक सञ्जालमाथिको समान पहुँचका कारण पछिल्लो पुस्ताले आपसमा बोल्दा ल्याएको भाषिक विचलनले व्यावहारिक भाषालाई सहज र अनुकूल बनाउन थालेको देखिन्छ ।
महिला र पुरुषबीचका विभेदक पद, रूप र ध्वनिहरूको लोप भएर भाषामा आउने व्यापक तहका विचलनहरू पुरुषकेन्द्र भन्जनका ठूला लक्षण हुन् । आर्थिक अधिकारको विकेन्द्रण हुँदै जाँदा मानिसको सांस्कृतिक हैसियत पनि बदलिँदै जाँदो रहेछ, भाषागत विचलनले पनि विस्तारित रूप लिँदै जाने रहेछ । यही कारण भाषामाथिको पहुँच, नियन्त्रण र अधिकार पनि विकेन्द्रित भई भाषा सबैको साझा सामाजिक सम्पत्ति बन्ने सम्भावना रहन्छ । आजका भाषिक विचलनहरूले नयाँ समयका मानिसको भाव बोक्छन् । नयाँ युगको ताप, सांस्कृतिक घर्षण र विचार बोक्छन् । भाषाका एक आयमी पुराना मानकलाई खारेज गरेर बहुआयमिक साझा अपनत्वसहितका मानकहरू निर्धारण गर्नुमा प्रशस्त चुनौती छन् तर यो असम्भव छैन । यतिखेर, प्रादेशिक र प्रशासनिक पुनर्संरचनाको बहसले देश हल्लाइरहेको बेला भाषिक पुनर्संरचनाको यति महत्त्वपूर्ण मुद्दा कसरी ओझेल पर्न सक्छ ? 

 

प्रकाशित : पुस १६, २०७३ (कान्तिपुर- कोसेली)

Comments

Popular posts from this blog

तपाईं कहाँनेर उभिने ?

प्रतिबन्धित समयसित संवाद

'वाद' र 'आन्दोलन'लाई दोषी संरक्षणका खेलको रक्षाकवच नबनाइयोस्!