युग युगकी गार्गी

युग युगकी गार्गी

सरिता तिवारी


प्रश्नको सीमाभन्दा पारी नजाऊ गार्गी ! प्रश्नका सीमा पार गरेर ती देवताहरूबारे तिमी अतिप्रश्न गरिरहेकी छ्यौ । हे गार्गी, अतिप्रश्न नगर ! अतिप्रश्नले तिम्रो खोपडी पड्किन्छ ।’ याज्ञवल्क्यले यति भनेपछि गार्गी चुप लागिन् ।



राहुल सांकृत्यायनकृत ‘दर्शन दिग्दर्शन’ को भारतीय दर्शन खण्डमा माथिको यो वाक्यांश पढिरहँदा झ्याप्प रोकिएँ । जसरी रफ्तारमा गुडिरहेको सवारीले ब्रेक लगाउँछ घच्याक्क ! 
मनमा खेल्न थाले प्रश्न । त्यत्रो विद्वत्सभामा विदुषी गार्गीका प्रश्न किन अपमानपूर्वक निषेध गरिए ? यसकारण, कि तिनी महिला थिइन् वा तिनले याज्ञवल्क्यजस्तो ‘प्रकाण्ड विद्वान्’ लाई चुनौती दिएकी थिइन् ? अथवा यसकारण कि तिनका प्रश्नले कुनै अतुल्य पुरुष अहंकारमा कडा चोट पुर्‍याउने दुस्साहस गरेको थियो ?
आफ्नो समयका अत्यन्त प्रतिभावान भनिएका याज्ञवल्क्य दार्शनिक र कानुननिर्मातासमेत थिए । मिथिलानरेश जनकले आयोजन गरेको ब्रह्मसभामा उद्दालक आरुणीलगायत अनेक वेदज्ञहरूसहित वाचक्नवी गार्गी पनि उपस्थित थिइन् ।
सर्वश्रेष्ठ विद्वान् को हुने भनी आयोजित सो शास्त्रार्थमा विजेतालाई पुरस्कारको रूपमा घोषणा गरिएको थियो : सिङमा दस–दस सुनका मोहरसहितका थैली बाँधिएका एक हजार गाई !
याज्ञवल्क्यलाई आफ्नो ज्ञानमाथि अतिशय अभिमान थियो । शास्त्रार्थमा विजयी घोषित नै नहुँदै तिनले आफ्ना शिष्यलाई सबै गाईहरू डोर्‍याएर लैजाने आदेश दिए ।
परमज्ञानी र प्रतिष्ठित हुँदाहुँदै पनि उनमा त्यो मैमत्तपन सुहाउँदो थिएन । तर फेरि पनि गार्गीले उनलाई प्रश्नको चुनौती तेस्र्याइन् । उनका प्रश्न ‘टाइम’ र ‘स्पेस’ सँग जोडिएका बहुतै वजनदार र गहिरा थिए ।
याज्ञवल्क्यको अपमानजनक उत्तरले उपस्थित सबैमा जबर्जस्त विषाद र क्षोभ भरिएको त्यो सन्नाटामय घडीमा पनि अविचलित नभै गार्गीले बडो शालीन प्रश्न गरेकी थिइन् । उनले सही सही उत्तर दिए पनि । तर, गार्गीको विनम्रता र प्रश्नको तौलका सामु उनको लोभ र ठूल्याइँ एकाएक सेलायो । त्यही अपराधबोधले उनले आफूले जितेका एक हजार गाई पनि लिन चाहेनन् । जनसामान्यलाई बाँडिदिए । यसरी, विजयी भएर पनि गार्गीका अगाडि तत्कालीन विद्वत्समाजको अद्भुत नेतृत्व गरिरहेका याज्ञवल्क्यको पुरुष–दम्भ नतमस्तक हुन पुग्यो । र, गार्गी पराजित भएर पनि युगयुगका लागि विजेताको एक नजिर बनिन् ।
बृहदारण्यक उपनिषद्मा याज्ञवल्क्य–गार्गी संवादको सप्रसंग उल्लेख पाइन्छ । 
समय फेरिएको छ तर स्थान उही हो । रहनसहन फेरिएको छ तर मानवीय प्रवृत्ति उही हो । आज पनि गार्गीहरूका प्रश्नहरू उसैगरी वर्जित छन् । आज पनि गार्गीहरूका दुस्साहस खप्न नसकेर तिलमिलाउने याज्ञवल्क्य उसैगरी विद्वत् सभामा चोर औंला ठड्याउँछ । समाजको सिंगो संस्थापन यही गर्छ । यसैमा ल्याप्चे ठोक्छ । स्थापित मान्यता या ज्ञानको परम्पराभन्दा फरक जे जे कुरा प्रश्न भएर आउँछन् तिनको नश्लसहित गर्न खोजिन्छ सफाया ! सब आ–आफ्ना किल्लामा खुँडा, तरबार लिएर तम्तयार हुन्छन् !
यस्तो लाग्छ, महिलाका लागि– या कुनै पनि सत्ताहीनका लागि– समयको अपरिवर्तनीय र बनिबनाउ सिग्नेचर ट्युन हो, ‘स्टप द क्वेश्चनिङ !’
तर, जो सत्ताबाट अपदस्थ गरिएका छन्, पददलित छन् तिनका लागि सामाजिक र सांस्कृतिक सत्ताको हिस्सेदारी प्राप्त गर्ने एक मात्र विकल्प हो प्रश्नको भाषा । कलामा होस कि भाषणमा । गीतमा होस् कि कवितामा । सडकमा होस् या थिएटरमा । ललित गद्यमा होस् या नारामा । प्रश्नको भाषाबिना उत्तरको संकथन बन्नु असम्भव छ ।
र, त्यो उत्तर पद्धतिभित्र मात्र होइन प्रश्नकर्ताले आफ्नो अथक हिम्मतभित्र पनि खोज्नुपर्छ ।
हामी प्रगतिशील र मुक्त समाज स्थापनाको यात्रामा छौं । पछिल्लो दशकभरिमा हाम्रो राजनीतिक–सांस्कृतिक बहसको मूल जरो पनि यही रह्यो । यस्तो समाजले समय–घरका चाक्लाचाक्ला झ्यालबाट प्रश्नहरू भित्रिँदै बाहिरिंदै गर्नुलाई असहज मान्दैन । त्यहाँ प्रश्नहरूको पनि कलात्मक र सम्मानजनक स्थान सुरक्षित हुन्छ ।
सबै प्रकारका विचारधारीहरू प्रश्नको उपयोगिताबाट परिचित छन् । प्रश्नहरूले नयाँनयाँ आविष्कार जन्माउँछन । नयाँ विचारहरू जन्माउँछन् । पुस्तापिच्छे जीवनका नयाँ ‘कन्टेन्ट’ जन्माउँछन । प्रश्नको वर्जना सम्भव हुन्थ्यो भने न न्युटनको प्राकृतिक दर्शनको गणितीय सिद्धान्त जन्मन्थ्यो न कुनै आइस्टाइनले सापेक्षताको सिद्धान्त रच्न सक्थ्यो । एउटा स्याउको स्वैरकाल्पनिकजस्तो लाग्ने कथाले आधुनिक विज्ञानको यति ठूलो डिस्कोर्स निर्माण गर्ला भन्ने कुरा स्वयं न्युटनलाई अड्कल थियो होला ? उत्तर खोज्ने हुटहुटी एउटै होलान् तर आविष्कार र विचारहरू जन्माउने प्रश्न र मानिसको निश्चित प्रकारको जाति, लिङ्ग, समुदाय आदि अस्तित्वसँग जोडिएका प्रश्नबीच आधारभूत भिन्नता छन् ।
समय प्रश्नहरूसित भयाक्रान्त छ । प्रश्नकर्ता को हो ? उसको अनुहारको नाप नक्सा, उसले प्रतिनिधित्व गर्ने समुदाय या उसले भोट दिने अमूक पार्टी कुन हो ? यसले पनि प्रश्नमाथी समयको ‘एटिच्युड’ निर्धारण गर्छ । त्यसको कद काँठी कस्तो छ ? त्यसको उठबस कोसित छ ? त्यसपछि नै थालिन्छ प्रश्नमाथिको अपलक ठुँगाइ र राजनीति ! मानिसको खोपडीभित्र प्रश्न होइनन् बारुदका डल्ला उत्पादन हुँदैछन् जस्तो ! त्यसपछि नै नाङ्गो भएर देखापर्छ प्रश्नमाथि हूलहुज्जतको खेल !


इतिहासको स्मरण 


इतिहासवेत्ता रोमिला थापर भन्छिन्, ‘इतिहास कुनै टेलिफोन डाइरेक्टरीजस्तो होइन । घटना र तिनका तिथिमितिको सूचनाले भरिएको ‘पपुलर हिस्ट्री’ ले आँकडा र साक्ष्यहरूमाथिको तार्किक विश्लेषणलाई पूर्णतया निषेध गर्छ ।’ तर, इतिहास सामान्यतया अतीतबारे सूचनाको पोथ्रो मात्र भइरहेको देखिन्छ । खास कुरा त हाम्रामा इतिहासमाथि कुनै बहस नै हुँदैनन् । मात्र गफ हुन्छन् । छेउटुप्पा हराएका तिनै पुच्छ्रे गफको कथ्य–श्रव्य परम्पराले हाम्रो इतिहास चिन्तन धानेको छ । त्यसैले यहाँ इतिहासको चर्चा हुँदा वास्तविक र तर्कसङ्गत विश्लेषण होइन अजिबअजिबका फेन्टासीहरू सुन्न पाइन्छ । यो एउटा गम्भीर दुसंगति हो । 
इतिहास मूल्यांकनको अर्को दुसंगत पाटो पनि छ, जसले समयलाई शाश्वत र चिरस्थायी मानकका आधारमा मात्र हेर्नुपर्छ भन्छ । इतिहासको बाह्य र आलङ्कारिक व्याख्यामा अल्झिने हो भने द्विविधा बढ्छ मात्रै । घट्दैन । इतिहास समाज–विज्ञान पनि हो भन्ने कुरा स्वीकार गरेर त्यसको पुनव्र्याख्या गर्ने इतिहासकार र समाजविज्ञानीहरूलाई धैर्यसाथ नपढी साँचो इतिहास बुझ्न सकिन्न ।
के हो त महिलाको इतिहास ? के महिला दुर्बल, असहाय र आत्मनिर्णय शक्ति नभएका कमजोर प्राणी हुन् ? परजीवी कीरा वा लहरेझार हुन् ? जसलाई बाँच्न र उभिन अर्थोकैको सहारा चाहियोस् । वा लज्जावती झार हुन् ? जो एक स्पर्शले नै लत्याकलुतुक भएर ओइलाऊन् । प्रकृतिले होमोस्यापियन्सको पोथीका रूपमा विकसित गरेको यो जात के हो ? यसले कुनै इतिहास रचना गरेको छ कि चालू मसला फिल्ममा जस्तो रोइकराई र हिरोसँग कुम हल्लाएर नाच्ने उपक्रम मात्र गरेको छ ?
मानवसभ्यताको विकासक्रमका आदितथ्यहरूतिर जाऊँ, त्यहाँ आमाहरूको भूमिका सर्वोच्च छ । निर्णायक छ । मातृसत्तात्मक परम्पराको लामो यात्रामा महिलाकै विशिष्ट गुणगान र सम्मान भएको पाइन्छ । त्यहाँ पुरुष सीमान्त हुँदो हो । कार्यकारी अधिकार महिलामा निहित हुनाले ऊ कुण्ठित पनि हुँदो हो । तर, अचम्म लाग्दो के छ भने बलिष्ठ जीउ र हातपाखुरा भएको पुरुष हज्जारौं वर्षसम्म झन्डै एकछत्र मातृसत्तामा शासित भएर बसेको छ ! बर्बर समाजमा शुद्ध नारीहरू स्वतन्त्र मात्र होइनन् सम्मानजनक स्थानमा समेत थिए भन्ने तथ्य मानवशास्त्री आर्थर राइटको अध्ययनमा भेटिन्छ । संसारका प्राय:जसो सभ्यतामा मातृशक्तिको पूजा हुने परम्परा अद्यापि छ । हिन्दु संस्कारमा त विद्या, बल र सम्पन्नताकी प्रतीक नै नारीलाई मानिन्छ । यहाँ केही स्वैरकल्पना पनि जडिएका छन् । स्वैरकल्पनाका पत्रेदार बोक्राहरू ताछेर नफ्याँकी सत्यको नजिक पुग्न सकिन्न । 
विवाहपद्धतिमा आएको परिवर्तनसँगै आमाहरू बिस्तारै शक्तिबाट अपदस्थ हुन थालेका हुन् भन्छन्, दार्शनिक फ्रेडरिक ऐंगेल्स । उनको प्रसिद्ध कृति ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ ले परिवारको आधारभूत निर्माण प्रक्रिया नै बदलिएपछि महिला कसरी उत्पादन क्षेत्रबाट अलग्याइए र मातृ अधिकार कसरी कुण्ठित भयो भन्ने कुराको ऐतिहासिक थेसिस प्रस्तुत गरेको छ । यो कृति प्रकाशित भएको डेढ शताब्दीपारिको समयमा उभिएर यो पंक्तिकार महिलाको प्रश्न गर्ने अधिकारबारे विमर्श गर्दैछ । तथ्यहरू भन्छन, कम्तीमा तीन हजार वर्षयता जबर्जस्त अस्तित्वमा आएको एकनिष्ठ विवाहपद्धति नै स्वास्नीमान्छेको अधोगतिको कारक हो ।
पूर्वका मनु, याज्ञवल्क्य, तुलसीदास अथवा पश्चिमका प्लेटो, अरस्तु, देकार्त, कान्ट, रुसोजस्ता ‘विद्वान्’ हरूले महिलाको अस्तित्वलाई अस्वीकार मात्र होइन अपमानजनक रूपले तिरोहितसमेत गरेका छन् । उनीहरूले महिलाको ‘पब्लिक स्फेयर’ माथि गम्भीर र उपहासजनक अभिव्यक्ति दिएका छन् । समाजमा विचारधारा निर्माणको सत्ता हाँक्नेहरूले दिएका दरिद्र अभिव्यक्तिहरू हेर्दा हजारौं वर्ष लागेर बनेको स्त्री–भाष्यको यो पूरापूर ‘पुरुषवादी फ्रेम’ बुझ्न माथापच्ची गरिरहनु पर्दैन । यही भाषा हो, जसले युगैपिच्छे हरेक स्वप्नशील महिलाको पखेंटा काट्न खोज्छ । घरका संघार नाघेर सडकमा आइसकेपछि पनि पाइलैपिच्छे ‘स्पिडब्रेकर’ बनाई बनाई सताउँछ ।
नेपाली समाजमा महिला लामो समयसम्म ‘अन्य’ रहे । प्रमुख हुने हैसियत त निर्माणाधीन नै छ । राजनीतिक र कानुनी लडाइँको दशकौंको शृंखलापछि स्थिति तुलनात्मक रूपले फेरिएको अवश्य हो । कति कति अज्ञात वीराङ्गनाहरू समयान्तरको फोसिल भएर बसेका छन्, पत्तो छैन । तर ज्ञातहरूको पनि मूल्यांकन अझै हुन नसक्नु दु:खलाग्दो कुरा हो । खोजबिनहरूले बाहिर ल्याएका तथ्यका आधारमा नेपाली महिलाको परम्पराभञ्जक व्यक्तित्वको समीक्षा गर्न कम्तीमा एक शताब्दीपछाडि फर्कनुपर्छ । त्यहाँ निरंकुश राणातन्त्र र तत्कालीन समाज व्यवस्थाको विरोधमा आफ्नो संगठनसहित मोर्चाबद्ध योगमायालाई भेट्न सकिन्छ । उनी एक जनपक्षीय र प्रगतिशील कवि पनि थिइन् । त्यसअघि नेपालको इतिहासमा राज्यको नायबी लिने महारानीहरू नआएका होइनन् तर ती तत्कालीन नेपाली समाजका महिलाको फरक भङ्गिमा र चित्र प्रस्तुत गर्न असमर्थ छन् । हाम्रो इतिहास चेतनाको दुर्दशा, जनस्तरबाट त्यति शक्तिशाली आन्दोलनको नेतृत्व गर्ने योगमायाबारे इतिहासका पुस्तकहरू लगभग मौन रहे । उनका बारे पछिल्ला दशकमा बल्ल नयाँनयाँ तथ्य प्रकाशित हुँदैछन् ।
उनको मृत्यु हुनुभन्दा एक वर्षअघि भएको शहीदकाण्ड (१९९७) र त्यसपछि २००७ सालको प्रजातान्त्रिक आन्दोलनको सेरोफेरोदेखि आजसम्म हेरौं, पछिल्ला सात दशकमा हरेक क्षेत्र, हरेक मोर्चामा महिलाको सहकारी भूमिका कसैले नकार्न सक्दैन । तर, कतिन्जेलसम्म बन्ने हो सहकारी ? कहिले हो निर्णायक बन्ने ?
महिलालाई स्वप्नजीवी बन्नुमा ठूल्ठूला जोखिम छन् । तर, तिनले सपना देखेका देखेकै छन् । लडेका लडेकै छन् । समाजका हरेक तप्का र सिर्जनाका हरेक विधामा तिनको संघर्ष पुरुषको भन्दा कुनै पनि अर्थमा कम छैन । तर, उपलब्धि ? हो, यहींनेर चाहिन्छ इतिहासको समाजशास्त्रीय विश्लेषण । कुन कुन कारण हुन् जसले महिलाको सांस्कृतिक उपलब्धिलाई यतिबिघ्न खुम्च्याइदिएको छ ? उही ठाउँ फनफनी घुमेर दाइँ मारेको गोरुजस्तो थकाइ मात्र धेरै ! किन भैरहेको छ यस्तो ?


पितृसत्ताको प्रेत


प्रेत अर्थात् मानिस मरिसकेपछि प्राप्त हुने भनी विश्वास गरिने कल्पित योनी । डरलाग्दो कुरा ! दुष्ट सत्ता ।
पितृसत्ता मरिसकेको छैन । अहिल्यै यसको प्रेतको कल्पना गर्नु अलि हतार पनि हुन सक्छ । बाल्यकालमा भूतप्रेतका भयानक कथा सास रोकी रोकी सुनिएकै हो । भूतप्रेतको डर पनि खुबै लाग्थ्यो । तर, थाहा लाग्दै गयो, हामीले सुनेको भूतको कथाभन्दा कति हो कति डरलाग्दो छ पितृसत्ताको प्रेतकिस्सा ! यति डरलाग्दो कि यसले प्रकृतिका सबभन्दा सुन्दर फूलहरूलाई हेर्दाहेर्दै अङ्गार बनाइदिन्छ । बतासका गीतजस्ता मीठामीठा सपनाहरूलाई मकै चबाएझैं चबाइदिन्छ । जन्मँदै गरेका विचारहरूमाथि आमाको पाठेघरसम्मै पुगेर बमवर्षा गरिदिन्छ । यसले मच्चाएको मानवताविरोधी अपराध हिटलरकालीन नरसंहारभन्दा सयौं गुणा बढी छ । यसले गिराएको मानवीय गरिमाको मूल्य हिरोसिमा र नागासाकिमा गरिएको आणविक प्रहारभन्दा पनि अपूरणीय छ । मनुवादी ‘आदर्श’ श्लोकदेखि रेडियोलोजीको सबभन्दा अत्याधुनिक उत्पादनसम्म यसका हतियार फैलिएका छन् । विधायकदेखि डाक्टरसम्म यसका मतियार फिंजारिएका छन् । भान्सादेखी ओछ्यानसम्म, घरको पिँढीदेखी काम गर्ने ठाउँसम्म, वडादेखि सिंहदरबारसम्म यसको नेटवर्क क्रियाशील छ ।
एक महिला भएर मात्र होइन एक विवेकशील पुरुषले सोच्दा समेत यो उत्तिकै भयानक लाग्छ । प्रसिद्ध कृति ‘द सेकेन्ड सेक्स’ मा सिमोन द बोउवरले भनेकै छिन्, ‘महिला जन्मिन्न ,बनाइन्छे ।’ यो निर्माण राजनीतिक हो । सांस्कृतिक हो । जैविक होइन । प्रकृतिले पुरुष र महिलालाई फरक फरक क्षमता र विशिष्टता दिएको छ । एकलाई शारीरिक बलिष्ठता दिएको छ भने अर्कोलाई ‘मल्टिफङ्सनल ट्यालेन्ट’ । महिला एकैसाथ धेरै काम सजिलै निप्ट्याउने क्षमता राख्छन् । तर मानिसको ज्ञाननिर्माणको थोते परम्पराले महिलामा ‘कुकिङ जिन’ मात्र देख्छ । ‘वी अल सुड बी अ फेमिनिस्ट’ भन्ने आफ्नो सम्भाषणमा नाइजेरियाली लेखक चिमामान्दा अदिची कति मीठोसँग यस्तो परम्परामाथि व्यङ्ग्य गर्छिन् !
आमाहरू आफ्नै सुखदु:खका कुरा गर्दा भन्थे, ‘बोक्नु’ र ‘ब्याउनु’ आइमाई हुनुको दु:ख हो । यसैले गर्दा आइमाईलाई कहिल्यै मुक्ति छैन । जीवविज्ञानमा यसैलाई ‘गर्भाशय सिद्धान्त’ भनिँदो रहेछ । यसैको आधारमा बनेको रहेछ पुरुष श्रेष्ठताको ‘लिङ्गसिद्धान्त’ । तर यी तथाकथित सिद्धान्तको धज्जी उडाउने लेखक एभलिन रिडले त्यसको प्रामाणिक खण्डन गर्दै भन्छिन्, ‘यही कारण महिला पुरुषभन्दा बढी सिर्जनात्मक हुन्छन् र पुरुष ध्वंसात्मक ।’ उनको कथन छ, भाले स्वभावैले हिंस्रक, फटाहा र एकलकाँटे हुन्छन् र पोथी आपसी सहयोग र मातृत्वले भरपूर । बच्चालाई दुश्मनबाट जोगाउने सन्दर्भमा बाहेक पोथी उतिसारो खतरनाक भएर देखिँदैनन् । ‘अफ्रिकन जिनेसिस’ नामक आफ्नो शोधमा रबर्ट आद्रे सम्भवत: ठीकै भन्छन्, ‘भालेको पाशविकवृत्ति जतिजति बढ्दै जान्छ, पोथीको शक्ति पनि बढ्दै जान्छ ।’ रबर्ट बिल्फ्रौंल्ट नामका एक जीव वैज्ञानिकले त ‘भाले जनावर पोथीभन्दा बढी मूर्ख हुन्छ’ सम्म भनेका छन् ।
स्वाभाविक हो पितृसत्ताको भाषाले आफ्नै सहुलियतको भाष्य निर्माण गर्नु । त्यस्तो भाष्य, जसले आफ्नो पकडको ‘स्फेयर स्फ इन्फ्लुएन्स’ भित्र राखेर महिलाको भाग्य निर्धारण गरिरहन सकोस् । यसको विरासत कुनै ‘मेल इन्डिभिजुअल’ ले मात्र होइन सिङ्गो पद्धतिले धानेको छ र पद्धतिमा महिलाहरू पनि छन् । यही हो महिलाका उपलब्धिहरू खुम्च्याउने प्रमुख कारक । यसको वृत्त तोड्नु पुरुषविरुद्ध प्रहार गर्नु होइन । पद्धतिविरुद्ध हो । त्यसैले महिलाको जागृतिचेतसँग भयभीत भएर कुनै पुरुष आफ्नो संवेदनशील अंगको सुरक्षार्थ हाहाकार मच्चाउँदै हिँड्न आवश्यक छैन । पितृसत्ताको पर्खाल भत्काउने हतियार महिलाको मानसिक तन्तुभित्रै छ । रगतको प्यास बोकेर हातहातमा सुसज्जित छैन । यसै पनि पुरुषजति हिंस्रक छैनन् महिला । गणतान्त्रिक मुक्त समाजको बहसमा अब नयाँ पुराना प्रश्नहरूको जगमा बन्नुपर्ने नयाँ भाष्य, नयाँ संकथनहरूबारे पनि गम्भीर विमर्श हुनु जरुरी छ ।


साथी पुरुष


विचारहरूका निर्माता पुरुष । तिनको ‘मेन्टर’, संरक्षक र कर्ता पनि पुरुष । व्याकरणका विन्यासक पुरुष ! शास्त्र, नैतिकता र आचारव्यवहारका व्याख्याता पनि पुरुष । ती व्याख्याहरूले चिच्याई चिच्याई भन्छन्, ‘महिला त केवल गर्भाशय मात्र हुन् ।’ मानौं विचारका जैविक अभिभावक र तिनका सन्तति पुरुष मात्रै हुन् । परीक्षण गरेरै हेरौं विचार उत्पादनका लागि हाम्रो बुद्धि तत्त्व पुरुषमा भन्दा कति मासाले कम छ ? र, अर्को परीक्षण पनि गरौं, बन्द पिंजडामा थुनिएर हातगोडा बाँधिएर जीवनभर कुँजिनुपर्‍यो भने कुनै पुरुषलाई उसैगरी विचार आउँछन् जसरी खुला परिवेशमा आउने गर्छन् ?
पुरुष नियामक मात्र हुन् ? तिनीहरू महिलामाथि शोषण मात्र गर्छन् ? होइन । तिनीहरू महिलाका नैतिक श्रेष्ठताहरूको बखान पनि गर्छन् । महिलाका सदगुणहरूको प्रशंसा पनि गर्छन् तर किन ? उत्तर सजिलो छ : आफ्नो स्वार्थपुर्तिका लागि । ‘नैतिक’ गुणयुक्त सामाजिक वातावरण अनुकूलनका लागि । सामाजिक नैतिकताको जम्मै बोझ महिलाको थाप्लामाथि थोपरेर फुक्काफाल हिँड्नका लागि । यिनै पुरुष हुन् जो एकातिर आफ्ना घरभित्रका महिलाका लागि फेमिनिनिटी (नारित्व) का आदर्श रेखा बनाउँछन् र अर्कोतर रेडलाइट एरियाको माग गर्छन् । सबभन्दा घातक छ यही मार्काको डबल स्ट्यान्डर्ड पुरुष ।
नगण्य मात्र पुरुष छन् जो महिलाको व्यक्तिगत र सामाजिक दुवै परिवृत्तलाई स्वीकार गर्छन् । तिनको वैयक्तिक र सामूहिक दुवै व्यक्तित्वको निखारमा एक स्वस्थ समाजको चरित्र देख्छन् । माथि उल्लेख गरिएका विचारक फ्रेडरिक ऐंगेल्स र जोन स्टुअर्ट मिललगायत केही पुरुषहरूले आफ्नो समयमा महिलाका पक्षमा उल्लेख्य काम गरे । तिनका विचारहरूले संस्थापनलाई धक्का दिए, महिलाको आत्मसंघर्षलाई काँध थप्थपाए । यस्ता पुरुषहरू हाम्रो समाजमा पनि छन् जसले महिलाका मुक्त आकांक्षाहरूमाथि सम्मान प्रकट गर्छन् । यो सम्मान शब्दमा मात्र होइन व्यबहारमा झन् बढी अपेक्षित छ । त्यस्ता पुरुषहरू जो छातीमा प्रश्नहरूको आँधी लिएर हिँडेका महिलाहरूको आवाज धैर्यपूर्वक पढ्न सकून् । जो चोकचोकमा उभिएर धम्कीका शब्दहरूले विचारको जिनथेरापी गर्दै महिलाहरूलाई नतर्साऊन् । हामीलाई चाहिएको छ त्यस्ता साथी पुरुषहरू जसलाई कवि निर्मला पुतुलका शब्दहरू सापटी लिएर सोध्न सकियोस् :
बता सकते हो 
सदियों से अपना घर तलाशती
एक बेचैन स्त्री को 
उसके घर का पता 
?

Published : Kantipur koseli

Comments

Popular posts from this blog

तपाईं कहाँनेर उभिने ?

प्रतिबन्धित समयसित संवाद

'वाद' र 'आन्दोलन'लाई दोषी संरक्षणका खेलको रक्षाकवच नबनाइयोस्!