साहित्यमा त्यो हस्तक्षेप
साहित्यमा त्यो हस्तक्षेप
नेपाली साहित्यका पाठक पारिजातको लेखनबाट अपरिचित र अप्रभावित छैनन् । सबै खाले पाठकलाई पारिजातको साहित्य रुचाउने सुविधा छ । यस्तो सुविधा कमै मात्र लेखक पढ्नुमा हुँदो हो ।

पारिजातले सानै छँदा आमा गुमाइन् र हुर्कंदै गर्दा मायालु दाजु पनि दन्त्यकथाका अभागी नायकझैं अल्पिए । पिता घोर नास्तिक, घोर पढक्कु र आफ्नो संकल्पका पक्का थिए । अवचेतनमा पिताको सुषुप्त अनुशीलन पनि बसेको हुँदो हो, पारिजात स्कुलकै दिनमा साहित्यप्रेमी बनिन् । लोक प्रचलित लहरी काव्य र भारतीय साहित्यका नामूद लेखनीसँग परिचित भइन् । जीवनका प्रकोप र साहित्यको तादात्म्य कतै मिल्न पुग्यो । भावुकता र रुमानियत उनको व्यक्तित्वसँगै गाँसिन आइपुगे । उनी कविताप्रेमी मात्र होइन, स्वयं कवि बनिन् । शरीरमा कहिल्यै निको नहुने रोगका सङ्क्रमणहरू देखिनु र बिस्तारै आफूभित्र पलाउन लागेको प्रेमको पालुवा आफ्नै हातले किचिमिची पार्दै बाँच्न सिक्नु— यी दुइटै कुरा क्रमागत भएर उनको जीवनमा आए ।दार्जिलिङमा जन्मे–हुर्केर काठमाडौंलाई कर्मथलो बनाउने सिर्जनशील प्रतिभाहरूमध्ये एक पारिजात पनि हुन् । यो सूचीमा अरू अनेक स्रष्टा छन्, जसले पूर्वी सीमापारिबाट आएर ठूलो समर्पणले नेपालको साहित्य, कला र सङ्गीतमा विशिष्ट प्रभावहरू छोडेका छन् ।
रुमानी भाव र अति कल्पनाशीलताकी धनी पारिजात कलकलाउँदो बैंसकै दिनमा काठमाडौं आइपुगिन् । प्रेमको गहिरो विषाद र आफन्तका शोकको शृङ्खलाबद्ध पीडा उनका मानस–मित्र थिए । र, सम्भवत: साहित्यलेखनका उत्प्रेरक पनि । उनीभित्र घरी–घरी बौरिइरहने प्रेम सुषुप्त रहन सकेन । अवसादमय प्रेमका वर्णनातीत घाउ उनका आरम्भिक कविता लेखाइका विषय बने । पहिलो कविता २०१३ सालमा ‘धरती’ मा छापियो । त्यसपछि २०१४ सालमा कवितासंग्रह नै प्रकाशित भयो, ‘आकांक्षा’ ।
विवाद र संक्रमण
बहुचर्चित ‘शिरीषको फूल’ ले नेपाली साहित्यमा पृथक् स्वादको तरङ्ग ल्याउनुअघि उनका चार उपन्यास जन्मिनुपूर्व नै जलाइए । विश्वसाहित्य पढ्दै गर्दा भित्रभित्र ‘बेजोड उपन्यास लेख्ने महत्त्वाकांक्षाको राक्षस’ ले शिर उठाउन थालेपछि उपन्यास लेख्न बस्दा उनलाई आफैंले लेखेका चीज झुर लागे । र, आफैंले जलाइदिइन् । ती चार उपन्यासको दहनबिना ‘शिरीषको फूल’ जस्तो किताब लेखिन सम्भव पनि नहँुदो हो ।
‘शिरीषको फूल’ नेपाली साहित्यमाथि पारिजातको विस्फोटक हस्तक्षेप थियो । मानौं सबका आँखा खुलाका खुलै रहेजस्तो क्षण ! त्यो विस्फोट अहिलेको जस्तो स्टन्टबाट थालिएर फास्सफुस्स भई बिर्सिइने खाले थिएन । नेपाली साहित्यमा यो जति प्रशंसित वा आलोचित किताब कमै होलान् । यसबाट पारिजात एकाएक प्रसिद्धिको शिखरमा पुगिन् । दार्जिलिङबाट छिरेकी एउटी महिला ! अझै त महिलाका कृतिलाई भयानक शंकाको नजरले हेरिन्छ, उसको नामसँग कुनै पुरुषको नाम नजोडी किताबको एक्लो समीक्षा गर्न नसक्ने ‘हिप्पोक्रेसी’ यहाँ जिउँदै छ, त्यो बेला यो किताब र लेखक पारिजातको सहज स्वागत भयो होला भनी कल्पना गर्न पनि हम्मे पर्छ ।
उपन्यास लेखनमा भाषा र भावको बुनोटबारे आज पनि जब–जब गम्भीर छलफल हुन्छ, ‘शिरीषको फूल’ बहसको केन्द्रमै आइपुग्छ । यद्यपि शून्यवादी–विचलनवादी वैचारिक अपिलका कारण यो कृतिलाई आदर्श मान्न नसकिने तर्क पनि प्रकाशनकालदेखि आजसम्म उत्तिकै बलियो छ, तथापि पछिबाट विचारसचेत र जिम्मेवार लेखक पारिजातको निर्माण गर्ने आधार यही किताबको प्रतिक्रियापछि तय भएका हुन् । यो स्मरणीय कुरा हो ।
‘शिरीषको फूल’ प्रकाशनपछिका दिन उनका लागि भयावह रूपले कठोर र तनावपूर्ण थिए । तिनै तनावदेय दिनमा उनी राल्फा जेनेरेसनको सक्रिय अभियन्ता बनिन् । वैचारिक संक्रमणमय चरणपछि उनको चिन्तन बिस्तारै माक्र्सवादतर्फ ‘सिफ्ट’ भयो । त्यो समय सम्झँदै पारिजातले भनेकी छन्, ‘व्यवहारवाद र उग्रवादबाट आउँदा म प्रगतिवादको हाराहारीमा बाटो बिराएको यात्रीजस्तो भइरहेकी थिएँ । ऐन–मौकामा कोही सहृदयी प्रगतिवादी मार्गदर्शीले यो बाटो हो भनी सही अध्ययनतर्फ सङ्केत गरिदिए । ...यसरी म प्रगतिवादतर्फ प्रतिबद्ध भएँ ।’
राल्फा जेनेरेसनको सहकर्मीका रूपमा उनले पार गरेको वैचारिक सङ्क्रमणले देखाउँछ, एउटा लेखक आफैंमाथि प्रयोग र परीक्षण गर्ने जोखिमबाट कसरी अवतरण गर्न सक्छ ! यही अवतरणको साक्ष्य हो— ‘बैंसको मान्छे’ उपन्यास (२०२९) । यसअघिको ‘महत्ताहीन’ राल्फा मेनिफेस्टोकै एक प्रयोग थियो । ‘आदिम देश’ का धेरैजसो कथा राल्फा चिन्तनकै वरिपरि रिँगेका छन् ।
यु टर्नपछि
तीसको दशक थालिँदा पारिजात प्रखर माक्र्सवादी भएर उभिइसकेकी थिइन् । अब उनी आन्दोलनमा थिइन्, ‘एक्टिभिजम्’ मा थिइन् । त्यो पनि नेतृत्वकै तहमा ! उमेरको फेरो घुमाएर हेर्ने हो भने पारिजातको जीवनका वैचारिक आयामलाई असामान्य र विस्मयकारी भन्नुपर्छ । चालीस वर्ष पुगुन्जेल उनको विचार गर्ने तरिका, व्यक्ति र समाजलाई विश्लेषण गर्ने शैलीमा आश्चर्यजनक परिवर्तन देखिएको पाइन्छ । पारिजातमा विकास भएको यो विलक्षणतालाई अवस्थाजन्य मान्ने कि प्रयत्नजन्य ? मचाहिँ दोस्रो मान्छु ।
संवत् २०३२ मा लेखिएको र २०३५ मा छापिएको ‘पर्खालभित्र पर्खालबाहिर’ लाई नेपाली आलोचनात्मक यथार्थवादी धारको उम्दा र रोज्जा उपन्यास मानिन्छ । २०२२ (‘शिरीषको फूल’ प्रकाशन) देखि २०३२ (‘पर्खालभित्र पर्खालबाहिर’ को लेखन) बीचका दस वर्षमा पारिजातको वैयक्तिक जीवनमा जेजस्ता ऊहापोह आए, ती कुनै पनि लेखन–जीवनबाट अलग थिएनन् । बरु लेखकीय जीवनका उतारचढावकै कारण निर्मित थिए । अस्थिर र उकुसमुकुसमय मानसका बीचमा पनि प्रतिबद्ध लेखनतर्फ उत्प्रेरित गर्ने चीज अरू केही थिएन, उनले प्राप्त गर्न थालेको राजनीतिक संसर्ग थियो, फेरिँदै गएको मित्रवृत्त र त्यहाँ उपलब्ध वैचारिक अन्तरक्रिया थियो । लेखनलाई ‘मिसन’ मा जोड्न थालेपछि राजनीतिक चरित्रका उपन्यासमा उनको मिहिनेत पूरै गोचर छ । यसलाई घुमाएर भन्नु जरुरी छैन, पारिजात तत्कालीन क्रियाशील कम्युनिस्ट पार्टीको सक्रिय सहकर्मी थिइन् । यसपछिको लेखनले उनको लेखकत्वको दोस्रो इनिङलाई प्रतिनिधित्व गर्छ । ‘पर्खालभित्र पर्खालबाहिर’ (२०३५) र ‘अनिँदो पहाडसँगै’ (२०३९) राजनीतिक साध्यलाई लक्षित गरेर लेखिएका उपन्यास नै हुन् । तत्कालीन पञ्चायती ब्यवस्थाले रचेको प्रपञ्च र दमनको माहोलमा जनपक्षीय प्रतिरोधको आवाज र भूमिगत वाम आन्दोलनलाई मूर्त र स्पृश्य देखाउन यी उपन्यास सफल भएका हुन् भन्नेमा फरक मत नहोला । पक्षधरताको लेखनलाई सामाजिक र राजनीतिक आयामसँग जोडेर पारिजातले यी उपन्यासमा गरेको प्रयास शैलीशिल्पका दृष्टिले त्यस्तो कमजोर लाग्दैन जति उनलाई वाममार्गी भएकामा रोष प्रकट गर्नेहरूले आरोप लगाउँछन् ।
परिजातले बहुत उम्दा र अनेकौँपल्ट दोहोर्याएर पढ्न मन लाग्ने कथाहरू लेखिन् । उनका कथाले व्यक्तिको अन्तर्लोक र विसङ्गत विचार हुँदै सामाजिक सरोकार र भुइँ तहका मानिसको संवेदनातर्फको यात्रा गरेका छन् । यस्तो प्रवृत्ति उनका कवितामा पनि भेटिन्छ । तीव्र भावनामय, रोमान्टिक र निस्सारदेखि इतिहासलाई कठघरामा राखेर प्रश्न सोधिएका खरा कवितासम्मको यात्रा !
संस्मरणको चर्चा नभई उनको लेखनवृत्त अधुरो हुन्छ । उनका बहुचर्चित तीन संस्मरण छन्, ‘धुपीसल्ला र लालीगुराँसको फेदमा’, ‘एउटा चित्रमय सुरुवात’ र ‘अध्ययन र सङ्घर्ष’ । यिनमा सलसल बगेको रेशमी हावाजस्तो, साँझको मधुरो घामको किरणजस्तो मादक भाषामा उनका बाल्य र तरुणजीवनका उल्लास र कोपका बयानहरू छन् । नेपालीमा यति मोहक र हृदयसंवेद्य संस्मरण दुर्लभ छन् ।
परिजातको छुटाउनै नसकिने महत्त्वपूर्ण पाटो हो— स्तम्भ लेखन । संवत् २०४४ देखि थालिएको महिलाप्रधान म्यागजिन ‘अस्मिता’ का सुरुका अङ्कहरूमा पारिजातले ‘मेरो भागमा परेको अस्मिता’ नामको स्तम्भ लगातार लेखिन् (मार्टिन चौतारी र नेपाली म्यागजिनका २५ वर्ष) । सुसन मास्के र अञ्जु क्षत्रीले थालेको ‘अस्मिता’ लाई व्यावसायिकसँगै प्रगतिशील विचारप्रवाहमूलक बनाउन पारिजातले विशेष भूमिका खेलिन् । महिलाको मुक्ति र स्वतन्त्रता आग्रह नै उनको स्तम्भलेखनको केन्द्र थियो ।
चालीसको दशकको मध्यसम्म आइपुग्दा पारिजात पार्टी राजनीतिबाट अलग तर लेखकीय राजनीतिप्रति सचेत लेखक भइन् । प्रत्यक्ष राजनीतिबाट टाढा रहे पनि वैचारिक प्रतिबद्धता र दायित्वको निर्वाहमा भने उनी कहिल्यै पन्छिइनन् । बरु झन् मुखर रूपले लागिन् । यही समयमा उनले आफैंबारे गम्भीर समीक्षासमेत गरेकी छन्, ‘कन्फेसन’ हरू गरेकी छन् । प्रगतिवादी साथीहरूका आलोचनाबाट आत्तिएर कुनै बेला ‘शिरीषको फूललाई जलाइदिनू’ भनेकोमा क्षोभ प्रकट गर्दै त्यो कृतिको पुनर्मूल्याङ्कन हुनुपर्ने आग्रह राख्नु महत्त्वपूर्ण स्वीकारोक्ति हो । कतिपय समालोचकले यसलाई पारिजातको आत्ममुग्धता र विचलन भनेर आरोपसमेत लगाएका छन् ।
जुन आन्दोलन र पक्षधरताका लागि उनले आफ्नो उत्पादक उमेर र ऊर्जा खर्च गरेर वैचारिक नेतृत्वसमेत गरिन्, त्यही आन्दोलनका जिम्मेवार मानिसहरूले जीवनका पछिल्ला दिनमा उनको खुब आलोचना गरे, उनका पछिल्ला रचना (‘परिभाषित आँखाहरू,’ ‘बोनी’ लगायत) प्रगतिवादी नभएको जिकिरसमेत गरे । फित्ता बोकेर वादको नाप निकाल्ने अमिनहरूले जे भनून्, सामाजिक र सांस्कृतिक आन्दोलनमा उनको हिस्सेदारी अटुट रह्यो । राजनीतिक आन्दोलनमा बौद्धिक हस्तक्षेप र खुला सहयोग गर्ने कुरामा पारिजातको नेतृत्व स्मरणीय छ । प्रजातन्त्र पुन:स्थापनाको आन्दोलन (२०४६) मा कवि लेखकको प्रतिनिधित्व गर्दै कालो पट्टी बाँधेर सत्तासँग जुध्नु, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको खरो विरोध गर्नु, विभिन्न सामाजिक आन्दोलन र अभियानमा खुलेर समर्थन गर्नुलगायतका कुरा सतहमै देखिए । यसले उनलाई बिस्तारै एक साझा लेखकको विम्बसमेत दियो ।
पारिजात लेखक र एक्टिभिस्ट मात्र होइन, एक चिन्तक पनि हुन् । दूरदर्शी र सामाजिक–राजनीतिक अन्तरविरोध चिन्ने स्रष्टा हन् । उनी कुनै एक समूहविशेषकी पेवा मात्र होइनन्, तर लेखक आहूतिले भनेजस्तै (‘मैले चिनेका नौ बहिनी पारिजात’) मृत्युपछि उनका विचारको स्याहार र अनुशीलन गर्ने विशेष जिम्मा भने विशेष समुदाय र संगठनमाथि बढी छ । तर उनीहरू पारिजातको, उनका विचारको सम्मान र जतन गर्न कति प्रतिबद्ध छन् ? त्यो शंकाको घेराबाहिर छैन ।
नारीमुक्ति आन्दोलन र नारीवाद
पारिजात मूल रूपले नारी मुक्ति आन्दोलनकी कर्ता हुन् । यो कुरा उनका केही उपन्यास, स्तम्भ, कविता र संस्मरणहरूमा ठाउँ–ठाउँमा भेटिन्छ । व्यवस्था परिवर्तनको आन्दोलनबिना महिलाका अधिकार सुनिश्चित हुन सक्दैनन् भन्नेमा उनी तीसकै दशकमा पूर्ण रूपले सचेत थिइन् । यो सचेतता माक्र्सवादको गहिरो बोधबाट नि:सृत थियो भन्नेमा दुईमत छैन । रोचक कुरा के छ भने, रूसी कम्युनिस्ट आन्दोलनका नायक लेनिनप्रति उनमा विशेष सम्मान र प्रेम थियो । मृत्यु हुनुभन्दा ठीक अगाडिसमेत उनले मेरो लासमा शिरमाथि लेनिनको तस्बिर राखिदिनू भनेकी थिइन् रे । यो कुरा उनीबारे संस्मरण लेख्नेहरूले भलिभाँती उल्लेख गरेका छन् । उनका लागि लेनिन एक व्यक्ति होइन, राजनीतिक र सांस्कृतिक आन्दोलनका विम्ब थिए, जसले घरभित्र र बाहिरका अतिरिक्त श्रमबाट मुक्त गरेर महिलाहरूको सिर्जनात्मक सहभागितासहितको समाजको पक्षपोषण गर्थे ।
पारिजातमा वामपन्थको जुन प्रभाव पर्यो त्यसले उनलाई प्राज्ञिक वा सिर्जनाको तहमा मात्र होइन संगठित आन्दोलनको ‘प्राक्टिकल’ बाटोमा समेत हिँड्न प्रेरित गर्यो । शरीर कुँजिने कठोर रोगबाट ग्रस्त भए पनि उनी साङ्गझैं देशका विभिन्न भागमा पुगिन् । त्यहाँका मानिसहरूसँग अन्तरक्रिया गरिन् । महिला संगठनको नेतृत्वकारी भूमिकामा रहँदा नेपाली समाजका वर्गीय र लैंगिक दुवै खाले समस्याको पहिचान गरिन् । महिलाका समस्या र पीडा अरूका भन्दा विशिष्ट प्रकारका हुन् भन्नेमा उनी प्रस्ट थिइन्, तर यो समाजका अरू आन्दोलनभन्दा भिन्दै लडिन्छ वा त्यसरी पार लाग्छ भन्नेमा उनको विश्वास थिएन । राजनीतिसँग समानान्तर महिला आन्दोलनका पक्षमा उभिँदा समाजको सिङ्गो उत्पीडित समुदायसँगसँगै समेटिएर आउँछ भन्ने उनको विचार निरन्तर प्रासंगिक छ । उत्पादक शक्ति र सम्बन्धसँग नगाँसिएको महिला आन्दोलनचाहिँ कर्ताहरूले एक्लाएक्लै आफ्नो करिअर बनाउने कुरामै सीमित हुन्छ र त्यो महिलाको अस्मिताको साझा क्यानभास बन्न सक्दैन भन्ने उनको आग्रह झनै सान्दर्भिक छ ।
अन्तर्राष्ट्रियस्तरमा उठेको महिला मुक्ति आन्दोलन, महिला दशक (१९७५–१९८५) र विश्वभरको समाजका प्रतिरोधी महिला संगठन, विभिन्न रूपले प्रसारित नारीवादका ध्वनिहरूबारे उनी कति ‘अपडेट’ थिइन्, ‘आधी आकाश’ का लेखहरू साक्षी छन् । यसै शृङ्खलामा उनले नेपालीमा अनुवाद (मुरारी अर्यालले) गराई प्रकाशन गरेको अमेरिकी समाजशास्त्री एवलिन रिडको कृति पनि पर्छ । नेपालीमा ‘जीव विज्ञान नारीवादको नियति होइन’ शीर्षक दिइएको यो संकलन अहिले बजारमा दुर्लभ छ । नारीवादलाई अन्योल र अन्तरविरोधको भुमरीमा बेवारिसे नछोडी यसको सही दिशाबोध गराउनु पारिजातको सफलता हो । चालीसको दशकमै उनले नेतृत्व दिएको नारीवादी आन्दोलन नारीमुक्ति आन्दोलनबाट भिन्न थिएन, सँगै थियो ।
महिलामाथि हुने घरेलु हिंसादेखि सामाजिक–सांस्कृतिक शोषणका सबै रूपविरुद्ध उनले गरेको पैरवीको सानो अंश पनि आज कुनै संगठित र पैसाको खोलो बगेका संस्थाले समेत गरेका छैनन् । तत्कालीन सामाजिक मनोविज्ञानदेखि गीतसङ्गीत र मिडियासम्मको दोहोलो काढेर महिलाको गरिमा र सार्वभौम अधिकारका पक्षमा बोल्ने पारिजातका विचार आज नारी मुक्ति र नारीवादी आन्दोलन बाटोमा हिँड्नेका लागि बलियो एक अभिभावक हुन् । यद्यपि, बहसमा थरी–थरीका नारीवादको चर्चा भए पनि नेपालको राजनीतिक र सांस्कृतिक विशिष्टतामा हाम्रै आवश्यकताको मुक्ति आन्दोलन र नारीवादी आन्दोलन गर्नुपर्ने पारिजातको आग्रह मननीय, अनुसरणीय छ
।
Comments
Post a Comment