पारिजातको पुर्नपठन





पारिजातः ओभररेटेड कि अण्डरएस्टिमेटेड ?



– सरिता तिवारी
 
पुनर्पठन के हो ? दिमागमा सोझो उत्तर खेल्छ, कृतिको बारम्बार अध्ययन । कृतिभित्र बारम्बार प्रवेश गर्दै त्यसबारे अरुका मात्र होइन आफ्नै धारणाहरूको समेत परिक्षण गर्ने प्रक्रृया । पुनर्पठन भन्नासाथ सामान्यतया एउटै पाठ, एउटै किताब धेरैपल्ट पढ्नुलाई बुझ्ने गरिन्छ । आवश्यकता अनुसार, पाठको मात्र होइन लेखकको पनि पुनर्पठन गर्नुपर्ने हुन्छ । लेखकका यथासम्भव सबै कृतिलाई पढ्ने प्रयत्नले पुनर्पठन सहज बनाउँछ । वास्तवमा लेखकलाई चिन्ने, बुझ्ने र कुनै ठहर गर्ने सन्दर्भमा पुनर्पठनको ठूलो महत्व रहन्छ । वैचारिक र शैलीगत बिभिन्नता भएको कुनै लेखकबारे धारणा बनाउन त लेखकत्वको प्रामाणिक र मिहिन अनुसन्धान गरेर उसका वैयक्तिक उहापोहको समेत अध्ययन हुनुपर्छ ।

लेखकका रुपमा पारिजात धेरैले पढ्ने प्रतिभा हुन् । तर, उनलाई अधिकांशले ‘शिरिषको फूल’मा मात्र पढ्छन् । त्यहाँदेखि पल्तिर पुगे एकादुई कथाहरुमा । त्यहाँदेखि अझ पर पुग्दा फाट्टफुट्ट कविता र एकाध संस्मरणमा । ‘शिरिषको फूल’ पाठ्यक्रममा राखिएको छ । एक दुईओटा कथा र कविता पनि । उनका अरु किताब ऐच्छिकबाहेक अनिवार्य पाठ्यक्रममा परेनन् । ती किताब जुन जनपक्षीय र बलिया भएको भनी पटक–पटक दाबी गरिन्छ, कोर्समा छैनन् । किन होला ? ती राम्रा र कलात्मक नभएर हो ? भाषा वा विषयले आकर्षित नगरेर हो ? या तिनको स्वर राज्यशक्तिको संस्थापन अनुकुलका नभएका कारण ?

पारिजात आयमिक लेखक हुन् । उनको लेखकत्वबारे कुरा गर्दा उनका वैचारिक आयामहरूको बेवास्ता गर्न मिल्दैन । उनका फरक फरक वैचारिकतालाई प्रतिनिधित्व गर्ने उल्लेख्य कृतिहरू नै नपढी एकाध किताबका आधारमा निष्कर्षमै पुग्ने काम पारिजातमाथिको अन्याय हो । यस्तो अन्याय पटकपटक भएको छ । पारिजात ओभररेटेड लेखक हुन् भन्ने कतिपय लेखकका धारणालाई पनि मैले यसरी नै बुझेको छु । यस कुराको आधिकारिकता के हो ? पाठकीय सर्वेक्षण ? उनका कृतिहरू बिक्रीको तथ्याङ्क या उनीमाथिको मनगढन्ते दुराग्रहमात्रै ? के पारिजात चाहिँदोभन्दा बढ्ता चर्चा कुम्ल्याएर आफूले ‘डिजर्व’ नगर्ने स्थानमा बसेकी हुन् ? हो भने पनि एउटा किताबकै आधारमा ओभररेटेड हुनु लेखक पारिजातका लागि र उनका अरु कृतिका लागि पनि ठीक होइन । पारिजातबारे धेरैजसो कुरा उनको पछिल्लो आयामलाई छायाँमा पार्ने गरी वा त्यसलाई अतिरञ्जित रुपले भित्तामै पु¥याउने बद्नियतले बाहिर आउने गरेका छन् । मिडियादेखि राज्ययन्त्रसम्मले उनको एक चरणसम्मको लेखनको मात्र बखान गरेको जस्तो लाग्छ । खासगरी उनको राजनीतिक प्रतिबद्धतासहितको लेखनलाई मिलेसम्म ‘इरेज’ गर्ने गरी । यसरी हेर्दा उनी ओभररेटेड होइन बरु अण्डरएस्टिमेटेड लेखक पो हुन् कि भन्ने पनि लाग्छ । उनको लेखकीय शक्ति र गुरुतालाई आ–आफ्ना शिविरका अनुकुलतामा घिसारेर बिलो लगाउने र त्यही बिलोमा अतिशयोक्तिहरूको खेती गर्ने काम जति भएको छ, उनीभित्रको लेखकका क्रमिक रुपान्तरणलाई मिहिन गरी बुझ्ने चेष्टा अत्यन्त कम मात्र भएको छ । लेखक पारिजातको पुनर्पठन एकमा होइन अनेकमा, खण्डमा होइन सम्पूर्णतामा हुनुपर्छ अनि थाहा लाग्छ, उनको अण्डरएस्टिमेशन कहाँ कहाँ छ ।

एक दिन यत्तिकै विचार आयो, पारिजात पढूँ फेरि एकपल्ट । पढें विस्तारै, आरामले । सुरुदेखि सुरु गरेर । एकैसाथ पढ्नका लागि निर्माण प्रकाशन सिक्किमले एकैसाथ छापेका ६ ओटा सङ्कलन छन् । ६ थरिकै लाग्छन् लेखकका आयाम– कवि, लेखक, अभियन्ता, राजनीतिक कार्यकर्ता, समाजसेवक र चिन्तक ! जम्मैथरि पारिजातबाट अभिभूत हुन्छु । कसरी बनिन् होला पारिजात ? केले बनायो तिनलाई निडर, स्पष्ट र आत्मनिर्णयशक्तिले सम्पन्न मानिस ? एक स्वप्नदर्शी, अति भावुक तर कलिलै उमेरदेखि पाको हुन सिकेकी स्वास्नीमानिस ? निस्सार मृत्युबोधदेखि सघन जीवनप्रेमसम्मको ठ्याक्कै एकसय अस्सी डिग्रीको वैचारिक कोल्टे फेराइ ! आफैँलाई बनाउँदै भत्काउँदै र फेरि जोड्दै उभिएको भयानक लोभलाग्दो र फेन्टास्टिक ब्यक्तित्व ! समाजको तीब्र अस्वीकारदेखि सामाजिक दायित्वको वकिलगिरीसम्म नर्थ र साउथपोलको रोमाञ्चक यात्रा !




                                                               Parijat : Photo from google



होमियोेप्याथिक डाक्टरकी रोमान्टिक छोरी । चियाबगानमा जन्मेकी, कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको दार्जिलिङ्मा हुर्केकी । घरभरि भरिएका मृत्युका त्रासदीहरूका कारण ईश्वरसत्तासित डरलाग्दो इबि पालेका, घरेलु अन्धविश्वास र धार्मिक रुढीले मुक्त एक नास्तिक पिताको परवरिश । तिनले दिने माक्र्सदेखि गान्धीसम्म, हिट्लरदेखि रुजवेल्टसम्मका घटना र विचारज्ञानको ‘इनपुट’ । छोरी विज्ञान पढेर मेडिकल डाक्टर बनोस्, बाबुको इच्छा । तर तिनका सपनाभन्दा बिल्कुल बिपरित अघ्घोर कल्पनाशील बन्दै गएकी पारिजात जसलाई लेख्न मन लाग्छ आफ्नै अनुभवहीन भावुकता, जिज्ञासाहरू जन्मदै–मर्दै गरेर बनेका कविता र हृदय छचल्किएर हुरुक्क पार्ने प्रेमपत्र । 

आमाको रुप र गन्ध नचिन्दै भोग्नपरेको मातृवियोग, त्यसले रचेको डरलाग्दो खालीपनले अतृृप्ती र उदासीमा बितेको वाल्यकाल र ओर्लंदै गरेका आम्दानीका सीमित स्रोतविच हुकँदो कैशोर । प्रेमलहरीदेखि थालिएर पिटरम्यान, रबिनहुड, सिन्दबाद द सेलर हुँदै वर्डस्वर्थ, प्रेमचन्द, शरच्चन्द्रको अध्ययनले बाक्लिँदै गएको साहित्यिक र दार्शनिक रुझान । पलाउँदै गएको घुमन्ते रहर । अन्तर्मुखी र अटेरी स्वभाव । किशोरवयको संघारमै बसेको प्लेटोनिक लभ र साथमा एउटा विकराल पिडादायी रोगको क्याराभान । कुल गरेर यिनै हुन् पारिजातका प्रारम्भिकी ।

आफँैले चुँडालेर हृदयमा बोकिहिँडेको प्रेम–चङ्गाको नाजुक धागो र परिवारमा घटित मृत्युका दुष्चक्रविच पनि पारिजातभित्रको लेखक पलापिँदै मुनाएर जानु सानो कुरो लाग्दैन । पछि आएर हेर्दा सामान्य लागे पनि उनका प्रारम्भिक कवितामै एक शक्तिशाली लेखकको उदयको सङ्केत पाइन्छ । केही विषाद थिए, केही मुटु कोक्याउने सम्वेदना र केही दृश्यहरूबाट छुट्दै याद बनिरहेका रुमानियत । सबैभन्दा पहिले पारिजात कवि बनिन् । प्रेमको गहिरो अवसाद र प्रणयको मधुरो रागले भरिएको कमनीय भाव उनको कवितालेखनको कथ्यकेन्द्र थियो । युवाकालसम्ममा असल कमसल अनेक खाले किताबको सङ्गतले झ्याम्मिएकी पारिजातको अभिब्यक्तिको तिर्खा कविताको नेरोघेरोले शायद धान्नै सकेन ।उनले गद्यको फराकिलो बाटो रोजिन् । तर, कविता लेख्न पनि छोडिनन् । समय सँगै पारिजातका कविताका भाव र भाषा पूर्णतः फेरिए । तिनका उद्देश्य र शैली फेरिए । यद्यपि पारिजात कवि कम र गद्यशिल्पी बढी हुन् । तर रुचिले पढ्ने हो भने ‘लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र’देखि ‘मानुषी’सम्मको उनको काब्यिक यात्रा गज्जब लाग्छ । यसबारे सविस्तार विमर्श गर्न सकिन्छ ।

‘शिरिषको फूल’ लेखुञ्जेलसम्म चारओटा उपन्यास लेखिओरी आफ्नै हातले च्यातिसकेकी पारिजातभित्रको कलाचेतना र स्वमूल्याङ्कन कुन स्तरको रहेछ, स्वतः थाहा लाग्छ । सं २०२२ मा जब ‘शिरिषको फूल’ प्रकाशित भयो, त्यसले तत्कालीन लेखक–पाठक वृत्तमा ठूलै हलचल ल्याइदियो । यसका भूमिकाकार शङ्कर लामिछानेले भने, ‘यो किताबले नेपाली साहित्यलाई विश्वसाहित्यको उपन्यासको क्यालेण्डरमा सन् १९६६ मा पु¥याएको छ ।’ लामिछानेको यो अभिब्यक्ति अतिशयोक्ति थियो या सहज मूल्याङ्कन यो बेग्लै प्रसङ्ग हो । तर यही उपन्यासका कारण बनेको आफ्नो प्रसिद्धि र उचाई पारिजात आफैँलाई धान्न हम्मे परेको साँचो हो । 

प्रखर बौद्धिक र कुशाग्र तार्किक व्यक्तित्वका रुपमा उभिँदा उनको सम्मान र तेजोबध एकैसाथ हुन थालेको पनि साँचो हो । भन्नेहरूले त ‘शिरिषको फूल’लाई शङ्कर लामिछानेको भूमिकाकै कारण ख्यातिप्राप्त गरेको मात्र होइन खूद लामिछानेकै कलमको समेत साझेदारी रहेको सम्म भन्न बाँकि राखेका छैनन् । यो उपन्यास त्यतिबेलासम्मको पारिजातको जीवनबोधको मिहिन खिपाइ थियो भन्ने कुरा थाहा पाउन पाठकहरूले उनका तीनओटा संस्मरणकृति सधैर्य पढ्नुपर्छ । ‘धुपीसल्ला र लााीगुराँसको फेदमा’, ‘एउटा चित्रमय सुरुवात’ र ‘अध्ययन र सङ्घर्ष’ । उपन्यासको जीवनबोध र समाजबोध ‘पोलिटिकल्ली करेक्ट’ हो वा होइन यसमा प्रशस्त बहस गर्ने ठाउँ छ तर पारिजातको लेखन क्षमताले यसै उपन्यासमार्फत् शानदार रुपमा झण्डा गाडेको चाहिँ पक्का हो । यो सबैले स्वीकार गर्नुपर्छ । एउटा संगठित आख्यानका रुपमा घटना र पात्रविचको अन्विति र तिनका उच्च बौद्धिक संवादको योजनामा पारिजात तारिफकी हकदार हुन् । भूमिकाले किताबको सापेक्षित महिमा उचाल्नु र पारिजातलाई प्रेमपूर्ण शब्दले गरिमा प्रदान गर्नुलाई अन्यथा ठान्नु वा त्यसको अधिमूल्यन गर्नु दुबै गलत हुन् ।







रसियाली, भारतीय र द्वितीय विश्वयुद्धोत्तर लेखनधारामा बलियो हस्तक्षेप गरेका अस्तित्ववादी, विसंगतिवादी लेखकहरू जँ पल सात्र्र, अल्वेयर कामु आदिका उपन्यासको गहिरो प्रभावपछि उनलाई लाग्यो, खै त नेपाली साहित्यमा यत्तिका उपन्यास ? त्यसपछि आफूभित्र एउटा बेजोड उपन्यास लेख्ने ‘महत्वाकांक्षाको राक्षस’ले शीर उठाउन थालेपछि तीन वर्ष लगाएर लेखिन् ‘शिरिषको फूल’ । यो कतिपय सन्दर्भमा उनी आफैँले भोगेको विसङ्गत जीवनका क्रुर निचोडको दस्तावेज पनि थियो । यस उपन्यासमाथि, यसका अनौठा पात्र र तिनका प्रबृत्तिमाथि प्रशस्त आलोचना र विमर्श भैसकेको छ, अझै हुँदैछ । यीमध्ये प्रगतिवादी चिन्तक तथा समालोचक गोविन्द भट्टको ‘शिरिषको फूल कि कागजको फूल ?’ उल्लेखनीय रुपले भिन्न, विशिष्ट र चर्चित समीक्षा हो । उपन्यास प्रकाशित भएलगत्तै त्यसको समीक्षा गर्दै भट्टले पारिजातको असमेल प्रतिभा र उनको शैलीगत मौलिकताको सम्मान गर्दै ‘शिरिषको फूल’लाई गन्धहीन, खोक्रो कागजको फूल करार गरिदिए । उनले भने, ‘कुनै महान कृतिले हामीलाई यस संसारलाई स्वीकार गर्ने अनि यसलाई मानवकल्याणको लक्ष्यअनुसार बदल्ने प्रेरणा दिन्छ । एकदिन पारिजातले यस तथ्यलाई बुझ्नुहुनेछ भन्ने हामीले आशा राखेका छौँ ।’ भट्टसँग वैचारिक भिन्नताका नाममा दुराग्रहको मण्डी चलाउन समीक्षाशास्त्रको अस्त्र प्रयोग गर्ने कुत्सित नियत थिएन । एउटा समर्थ र बिराट सम्भावनायुक्त लेखकलाई सामाजिक चेतनाप्रति सतर्क र जिम्मेवार बनाउने सत्प्रयास थियो । पारिजातको क्रमान्तर साहित्यिक चेतनाको विस्तारले पछि गएर यो अपेक्षालाई सही पुष्टी गरिदियो ।

‘शिरिषको फूल’ले दिलाएको ख्याति र तिखा आलोचनाहरूको धारावाहिक श्रृङ्खलापछि पारिजात जीवनको अर्थ खोज्ने यात्रामा हिँड्न खोज्दाखोज्दै विद्रोहपट्टि उछिट्टिइन् । उनी राल्फा बनिन् । राल्फा आफैंमा अनौठो नाम थियो । शब्दकोषमै नभएको बेपत्ताको नाम । राल्फाहरूले यसको अर्थ दिए– इतिहासबिरोधी, अराजकतावादी युवा लेखक गीतकार सङ्गितकारहरूको अभियान । उन्याईसौं शताब्दीको मध्यतिर युरोपमा विकसित दादावादी आन्दोलन र नवबामपन्थी विद्रोहचेतनाबाट हदैसम्म प्रभावित राल्फाहरूका आदर्श थिए रजिश डेबे्र, चे ग्वेभारा र हबर्ट माक्र्युजहरू । निहिलिज्म, बिटल्स र बिटनिकलगायतको समेत प्रभाव बोकेको राल्फा अभियान २०२३÷२०२४ देखि २०२९ सम्म सक्रृयतापूर्वक चलेर शिथिल भयो । 
वास्तवमा राल्फा ब्यवस्थित विचारधारा र सुसङ्गत आन्दोलन थिएन । यो आफैँमा भ्रमपूर्ण र भयङ्कर आरोपको घेरामा थियो । पारिजात राल्फा नै किन बनिन् होला ? उनको उत्तरले जिउमा काँडा उमार्छ ,‘ .....मेरो लोकप्रियता मलाई उपहास गरिरहेको जोकरजस्तो लाग्थ्यो । प्रेमको बहाना, विवाहको सङ्कल्प अनि पलायन, कामुक आँखाहरूको पोलाइ, एक्लै बस्नु डरमर्दो, कतै कसैले सकम्बरी तुल्याइदिने हो कि, कुनै इष्र्यालुले सुतिरहेको बेला छुरा धसेर गइदिने हो कि, क्षणको क्षण यो डर, आर्थिक कष्ट, इष्र्या, डाह ! खप्नै नसकेपछि म झन्झन् खुम्चिँदै, सानो हुँदै राल्फाभित्र आफूलाई लुकाउँदै लगेर सोचें– म सुरक्षित हुँदैछु (पारिजात,सङ्कलित रचनाहरू ६) ।’

राल्फा पारिजातको बिसौनी मात्र भयो । यो आफैँ पनि चरम अन्तरविरोधको भूमरीमा फँसिरहेको थियो । यसबारे समीक्षा गर्दै समालोचक ऋषिराज बराल भन्छन्, ‘राल्फालीहरु चित्तबुझ्दो दर्शनको खोजीमा थिए । प्रगतिवादतर्फको सङ्क्रमणपछि यस आन्दोलनले प्रगतिवादी आन्दोलनमा पारेका प्रभावको मूल्याङकन नगरी धर छैन ।’ अनार्किज्म र निहिलिज्मलाई माक्र्सवादपछिको आँधीमय सभ्यता ठान्ने पारिजातले ऐन मौकामा आफ्नो दिशाबोध गरिन् । यो बोध ध्यानबाट जागेको जोगीको जस्तो थिएन । तीब्र वैचारिक ठक्कर, वादविवाद र ब्यापक बहसपछिको थियो । राल्फा गतिबिधिबाट बाहिर निस्कन गोबिन्द भट्ट लगायतका माक्र्सवादीहरूले गरेको मार्गदर्शनलाई उनले सम्मानपूर्वक सम्झिएकी छिन् । राल्फा सम्बद्धताको चरणलाई उनको माक्र्सवादी स्कुलतर्फ संक्रमणको चरण भन्छन् समालोचक निनु चापागाईं । यही चरणमा उनका ‘महत्ताहीन’ र ‘बैंशको मान्छे’ उपन्यास छापिए । यीमध्ये अघिल्लो उपन्यास राल्फा मान्यताभित्रको अराजकतावादी, शून्यवादी लेखनधारामै भएपनि पछिल्लोमा अस्तित्ववादी चिन्तनको रहलपहलसहित माक्र्सवादी लेखनधारातर्फको साङ्केतिक प्रस्थान भेटिन्छ । ‘आदिम देश’ र ‘सडक र प्रतिभा’ कथासंग्रहले पनि झण्डै यही अवधिलाई प्रतिनिधित्व गर्छन् । ‘साल्गीको बलात्कृत आँशु’ र ‘बधशाला आउँदा जाँदा’प्रगतिवादी बाटो पक्रेपछिका कथा सङ्ग्रह हुन् ।

प्रायः सबैजसो समीक्षकहरू सं २०३० पछि पारिजातको समाजवादी यथार्थवादतर्फ सचेत यात्रा थालिएको कुरामा सहमत देखिन्छन् । यसपछि आएका ‘तोरीबारी, सपना र बाटाहरू’       (२०३२), ‘पर्खालभित्र र पर्खालबाहिर’ (२०३५) र ‘अनिँदो पहाडसँगै’ (२०३९) वैचारिक प्रतिबद्धतासहित लेखिएका महत्वपूर्ण कृति हुन् । कतिपय समालोचकहरू यसपछि उनका रचनामा कलातत्व ह्रास हुँदै गएको धारणा राख्छन् । तर, माक्र्सवादी सौन्दर्यशास्त्रले वकालत गर्ने सामाजिक यथार्थको यथातथ्यबोध र त्यसको सचेत पुनर्सिर्जनका दृष्टिबाट हेर्दा यसपछिको लेखनलाई नै पारिजातको सुसङ्गत, स्पष्ट र बलशाली लेखन मान्न सकिन्छ । यी उपन्यास लेख्ने सन्दर्भमा आफ्नो विषम शारीरिक अवस्थाकै विचमा पनि उनी देश घुमिन् । गाउँ गाउँमा पुगिन् । समाजका अन्तरविरोधहरूको नाडी छाम्ने कोसिस गरिन् । राजनीतिक पद्धतिहरूका कुरुपताभित्र पसिन् । जे जे देखिन् तिनलाई निर्धक्कसँग लेखिन् । प्रगतिशील चेतनाका दृष्टिबाट ‘अनिँदो पहाडसँगै’ र ‘पर्खालभित्र र पर्खालबाहिर’ यी दुई उपन्यासले निर्माण गरेको उचाई अतुल्य छ । यिनमा पञ्चायती निरङ्कुशताभित्र भुसको आगोजसरी सल्किएको भूमिगत कम्युनिष्ट आन्दोलनका जागरुक पात्रहरूको गतिशील चित्र छ । उत्प्रेरणा छ, उन्मेष छ । सामुहिक सपनाको लागि बैयक्तिक जीवन र रहरहरूको समर्पणको आह्वान छ । भाषा र शैलीमा अपेक्षित कलात्मकता छ तर त्यो ‘शिरिषको फूल’मा झैं मादक र विषालु भने छैन । 

सप्रसङ्ग भन्नैपर्छ, ‘शिरिषको फूल’को कलात्मक स्थापनासँग तुलना गरेर नियतबस् पारिजातका उल्लिखित कृतिको ओजक्षय गर्ने काम प्रशस्त भएको छ । योजनाबद्ध रुपले र पछिल्लो चरणकी पारिजातको झण्डै झण्डै तिरस्कारको तहसम्म नै । अर्कातिर यिनै कृतिलाई मात्र महानताको पगरी गुथाइदिएर ‘शिरिषको फूल’लाई रछ्यानको फोहरजसरी उपेक्षा पनि गर्ने गरिएको छ । बामपन्थी क्याम्पमा धार फरक पर्ने बित्तिकै जरोखेदाइ गर्ने प्रबृत्तिले पारिजातजति पीडित कोही भएन होला । खूद प्रगतिवादीहरुले पटक पटक उनलाई माक्र्सवादी प्रयोगशालामा लगेर जिउँदै पोष्टमार्टम गरिरहे । यही उपन्यासको नाम लिएर हमेशै झिरको मासु पार्नेहरूसँग आजित भएरै होला तिनले कुनै दिन भनिदिइन्, ‘शिरिषको फूल जनविरोधी उपन्यास हो । यसलाई जलाइदिनू !’ पछि गएर उनै पारिजातले यो उपन्यासको पुनर्मूल्याङ्कन हुनुपर्ने जिकिर किन गरिन् ? संक्षिप्त भएपनि पारिजातको लेखनलाई क्रमबद्ध विकासको श्रृङ्खलामा राखेर पुनर्मूल्याङ्कन गर्ने समालोचक डि आर पोखरेल भन्छन्, ‘पारिजातको क्रमिक विकास र रुपान्तरणलाई महत्व नदिनु ‘बालको खाल उतार्ने’ खेलो मात्र हो । मित्रलाई सच्चिने अवसर नदिई लगातार छाला काढ्ने मित्र के मित्र !’

पारिजातको लेखन र चिन्तनमा क्रमिक रुपले विकसित भएका दुई विपरित धाराहरूका शक्ति र सीमासहितकी पारिजात नै उनको ब्यक्तित्वको समुच्चय हो । सकमबरी पनि पारिजातकै तत्कालिन चिन्तनको प्रतिबिम्ब हो र ‘अनिँदो पहाड’सँगैकी सुवानी पनि उनको बदलिँदो चेतनाको आवाज बोल्ने बलिदानी पात्र हो । पात्र हावामा जन्मदैन । सुवानीजस्ती गतिशील पात्र जन्मन पारिजातभित्रकी सकमबरीको सचेत रुपान्तर भएरै सम्भव भएको हो  । यद्यपि सकमबरी पनि परम्परा र जीवनका पाखण्डहरुप्रति कम विद्रोही र ढिठ लाग्दिन तर उसको विद्रोह ब्यक्तिकेन्द्रबाट थालिएर त्यहीँ लुप्त हुने स्तरको थियो । सुवानी समाजकेन्द्री र सामुहिक विद्रोहकी नायिका हो । त्यसैले त बरी कलाहीन निस्सार मृत्यु मरी तर सुवानीले मृत्युलाई जीवनभन्दा पनि एक सिँढी माथि उकालेर कलात्मक बनाएर गई । यो रुपान्तरणलाई सामान्य ठान्नेहरू एकथरीले पारिजातको सामाजिक न्यायमुखी लेखनलाई पढ्दैनपढी कोरा नारा लेखेको लाञ्छना लगाएका छन् । ‘शिरिषको फूल’पछि उनको बाँकि सारा ब्यक्तित्वलाई निशेध गर्ने दुष्प्रयत्न गरेका छन् ।

अर्काथरीले  ‘शिरिषको फूल’लगायत अघिल्लो चरणका  रचनाकै कारण उनलाई बेला कुबेला कठघरामा उभ्याउँदै फैसला सुनाएर थङ्थिलो पारेकै हुन् ।  यसरी आफ्ना आफ्ना स्वार्थ र रुचिमुताविक घिसारेर फ्रेसहाउसको मासुजस्तो बनाउनु एउटा निरापराध लेखकको घोर अपमान हो । ‘शिरिषको फूल’ लेखेर तिनले कुनै अक्षम्य कसूर गरेकी होइनन् । बरु आफ्नै खरानीबाट ब्यँुतिएर उठ्ने फिनिक्स चरो झैँ आफ्नो चेतनालाई अर्को नयाँ आयाममा परिष्कार गर्दै लैजाने मार्ग खोलेकी हुन् । ‘पर्खाल भित्र र पर्खाल बाहिर’ लेख्ने पारिजातले ‘शिरिषको फूल’ पनि लेखेकी हुन् । यो सत्य हो । आश्चर्यजनक सत्य । एउटा चिन्तनधारको उत्कर्षमा पुगेर इतिहास रच्ने लेखकले ठ्याक्कै बिपरित अर्को चिन्तनधारको उत्कृष्ट कृति लेख्नु कुनै मजाक होइन । पछिल्लो समयकी जीवनसचेत र जुझारु पारिजात जन्मने चेतना अरु कसैले होइन शिरिषको फूल नामक एक विष्फोटले नै दिएको हो । न यो लेखिन्थ्यो, न यसले समकालिन चेतनामा ठूलो शक्तिसहित हस्तक्षेप गथ्र्यो, न उनलाई यसपछिका सकारात्मक नकारात्मक प्रतिक्रिया प्राप्त हुन्थे । विसङ्गतबोधको पल्लो किनारामा पुगेकी पारिजातलाई सङ्गतितर्फ फर्काउन एउटा दुर्घटना नै सही, ‘शिरिषको फूल’ जत्तिको योगदान अरु कसैको छैन । उनले गडफादर मानेका माक्र्सवादी गुरुहरूको पनि ।



चालिसको दशकको सुरुसँगै सङ्गठित पार्टि प्रतिबद्धता छोडेर पारिजातलगायत  केही लेखकहरूले स्वतन्त्र लेखनको बाटो समाते । पार्टि प्रतिबद्धता इन्कार गरेपनि विचारप्रतिको प्रतिबद्धतामा भने अविचल र बुलन्द हुनु उनको ओजस्वीता हो । यसपछि उनले बन्दी सहायता नियोग नामक परोपकारी संस्थाको थालनी गरिन् । स्तम्भलेखकका रुपमा नारीमुक्ति चेतनाको निरन्तर प्रसार गरिन्। अखबारमार्फत् सामाजिक–सांस्कृतिक बिभेद र विसङ्गति बिरुद्ध उनले सानोतिनो आन्दोलन नै छेडेकी हुन् भन्दा अत्युक्ति हुँदैन । यही विचमा प्रकाशित भएका ‘बोनी’ र ‘परिभाषित आँखाहरू’जस्ता उपन्यासको प्रस्तुतिले पारिजातको स्तर ‘मेन्टेन’ गर्न नसकेको आरोप खाए । यी उपन्यासका विषय अत्यन्तै सम्वेदनशील र कहालीलाग्दा भएरपनि प्रस्तुति कमजोर हुनुलाई उनको लेखन करिअरको मात्रै होइन प्रगतिवादी आख्यानकै दुर्घटना भनेर अथ्र्याइने गरेको भेटिन्छ ।
 
पारिजात जीवनभर रोगाइन् तर उनको इच्छाशक्ति रोगाएन । उनी दृढताकी धनी भएरै बाँचिन् र मरिन् पनि त्यसैगरी । ब्यक्तिका रुपमा होस् या लेखकका रुपमा होस् सधैँ घर्षणसहितको जिन्दगी बाँचिन् । पाँच दशकभरिको जीवनमा उनको सक्रिय लेखन अवधि पुग नपुग साढे तीन दशक हो । यति अवधिमा उनले दुई दर्जनबढी किताब लेखिन् । निरन्तर चेतनालाई झक्झक्याइरहने केही विद्रोही कविता, जीवनको उज्यालो देखाइदिने केही सजीव कथा, छाति निचोरेर लेखेका आत्मसंस्मरण र उन्नत समाजको सपना देख्न प्रेरित गरिरहने उपन्यासहरूको आलोकमा लेखक पारिजात नपढी नहुने मात्र होइन पटक पटक पढ्नुपर्ने कोर्स कन्टेन्ट हुन् । उनलाई चिन्न बुझ्न र उनीबारे निरुपण गर्न चाहनेले उनका मुक्त आलेखहरु, ‘आधी आकाश’ नामक महिला विशेष स्तम्भ र अन्तर्वार्ता पनि पढ्नुपर्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनको क्रियाशील सहभागिताबारे पनि थाहा पाउनुपर्छ । 

प्रकाशित अन्न्पूर्ण पोष्ट, फुर्सद । बैशाख,२०७३ 





Comments

  1. Interesting and fair criticism about legendary literary icon Parijat. Though Sukanya , Parijat's sister gave a great company and support to Parijat ,she is rarely mentioned in critic's writing.What's your opinion on this point,madam?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

तपाईं कहाँनेर उभिने ?

प्रतिबन्धित समयसित संवाद

'वाद' र 'आन्दोलन'लाई दोषी संरक्षणका खेलको रक्षाकवच नबनाइयोस्!